ज्ञानदाता गुरु र गुरुपूर्णिमा
संसारमा भएका अनेक प्राणीहरूमध्ये मानिस चेतनशील, विवेकी र सर्वोत्कृष्ट मानिन्छ । पृथ्वीलोकमा बस्ने मानिसले आफ्नो चेतना र ज्ञानकै कारण विश्वलाई स्वर्गमय बनाएको छ भने ज्ञानकै कारण चन्द्रलोक हुँदै मङ्गलग्रहको सतहमा समेत घुम्न सक्षम बनेको छ । बुद्ध, गान्धी, सुकरातआदि कोही पनि जन्मदै दार्शनिक थिएनन्, ती त सबै आर्जित ज्ञानका कारण प्रख्यात भएका हुन् ।
मानिसमा प्राकृतिक र आर्जित गरी दुई प्रकारका ज्ञानहरू हुन्छन् । भोक लाग्दा खाना खाने, तातो–चिसो, गुलियो–अमिलो, राम्रो–नराम्रो, सुगन्ध–दुर्गन्धआदिको ज्ञानका साथै प्रौढावस्थामा विपरीतलिङ्गीप्रतिको आकर्षणजस्ता कुराको ज्ञान प्राकृतिक हिसाबले नै प्राप्त गरिने भएकाले यसलाई प्राकृतिक ज्ञान भनिन्छ । यी बाहेकका अन्य पुस्तकहरू अध्ययन गरेर, सुनेर वा भोगेर प्राप्त गरिने ज्ञानलाई किताबीज्ञान भनिन्छ । किताबीज्ञान आर्जन गर्नका लागि पथप्रदर्शकका रूपमा कोही न कोही गुरु हुनै पर्दछ । यसरी गुरुका माध्यमद्वारा प्राप्त ज्ञानलाई आर्जित ज्ञान पनि भनिन्छ ।
गुरुमुख नभएको विद्या उपयुक्त समयमा अफापसिद्ध हुने मान्यता रही आएकाले महाभारतकालीन इतिहास प्रसिद्ध कौरव र पाण्डवहरूले द्रोणाचार्यलाई, कृष्ण र वलरामले सान्दीपनीलाई आआफ्ना गुरु मानेका थिए भने रामायणका अनुसार भगवान राम र लक्ष्मणले विश्वामित्रलाई गुरु मानेका चर्चाहरू पूर्वीय साहित्यका अनेक स्थानहरूमा पाउन सकिन्छ । यसरी सर्वज्ञ मानिएका राम र कृष्णले समेत आफूलाई मार्गदर्शन गराउनका लागि गुरुवरण गरेकाले गुरु के हो ? गुरुको महत्त्व कति छ ? भन्ने स्वतः सिद्ध हुन्छ ।
दुई अक्षरले बनेको ‘गुरु’शब्द संस्कृतबाट नेपाली भाषामा आएको तत्सम शब्द हो । यी दुबै अक्षरहरूमा आ-आफ्नै अर्थ र गुरुको परिभाषा समेत लुकेको पाइन्छ ।
“गु शब्दस्त्वन्धकारः स्यात् रु शब्दस्तन्निरोधकः ।
अन्धकार निरोधित्वात् गुरुरित्यभिधीयते ।।”
अर्थात् अन्धकारवाचक ‘गु’शब्द र निरोधार्थक ‘रु’शब्दद्वारा निष्पन्न ‘गुरु’शब्दले अँध्यारोलाई हटाउँदै उज्यालोतर्फ लाने भन्ने अर्थ जनाउँछ ।
अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी ज्योतिले हटाउने काम गुरुबाटै हुन्छ । जन्मदिने मातापिताबाट संसार दर्शन गर्ने चर्मचक्षुको सौभाग्य मिल्छ भने संसारको समीक्षा गर्ने ज्ञानचक्षु गुरुबाट मिल्दछ । गुरु त्यो तत्त्व हो जसले धृतराष्ट्रजस्ता जन्मान्धलाई समेत ज्ञानको माध्यमले संसार देखाइदियो भने अष्टावक्रजस्ता अपाङ्गलाई पनि सुपूज्य बनाइदियो अनि गुरुबाट प्राप्त ज्ञानकै कारण भारतका प्रख्यात विद्वान् स्वामी रामभद्राचार्य जन्मान्ध भएर पनि विश्वप्रसिद्ध बन्दै विकलाङ्ग विश्वविद्यालय खोल्न सक्ने युगपुरुष बनाइदियो । यसकारण पूर्वीय सभ्यताको आर्य समाजले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वर तीनै देवताका एकाकार मूर्तिरूप मानी गुरुबाट प्राप्त ज्ञानले अलौकिक ब्रह्मतत्त्वको साक्षात्कार गर्न सकिने भएकाले गुरुलाई सादर नमन गरेको छ । जसको पुष्टि प्रस्तुत श्लोकले गरेको छ –
‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।।’
चार वेद, अठार पुराण, अठार उपपुराणआदिका रचयिता वेदव्यासजस्ता विद्या एवं ज्ञानमूर्तिले पनि गुरुतत्त्वको महिमा आकलन गर्न नसकी ‘अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी शलाका (दियालो) बालेर हटाउने ज्ञानचक्षु गुरुबाट मात्रै प्राप्त हुने हुँदा त्यस्ता परमश्रद्धेय गुरुलाई नमन गर्दछु ’ भनी हरेक पुराणमा आदरभाव प्रकट गरेको कुरा निम्नश्लोकमार्फत् प्रकट गरेको देखिन्छ ।
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
तच्चक्षुर्मिलितं येन तस्मै श्रीगुरवे नमः ।।
आर्यसंस्कृतिको दर्शन शिरोमणि वेदले पनि ‘आचार्यदेवो भव’ भनी आचार्य अर्थात् गुरुप्रति उच्च सम्मान प्रकट गर्दै गुरुलाई देवताकै कोटीमा राखेर श्रद्धाभाव प्रकट गरेको पाइन्छ । त्यसैगरी हिन्दीसाहित्यका सन्त कबिरले गुरुको महत्त्वलाई दर्शाउँदै ईश्वरीयसत्ताभन्दा पनि गुरुसत्ता माथि रहेको कुरा यसरी बताएका छन्–
“ गुरु गोविन्द दोनो खडे काके लागूँ पाँए ।
बलिहारी गुरु आपने जिन गोविन्द दियो बताए ।।”
यसैगरी मिरा, तुलसीदासआदि सन्तकविहरूले पनि गुरुका विषयमा धेरै लेखेका छन् । यो क्रम नेपाली भाषाका कवि साहित्यकारहरूले पनि अङ्गीकार गरेको देखिन्छ ।
प्राचीन समयमा विद्या अध्ययनका लागि वर्तमानको जस्तो विद्यालयीय शिक्षा प्रणाली प्रचलित थिएन । गुरुको आश्रम वा तपोवनका वृक्षमुनि शिष्यहरू राखी शिक्षा दिने गुरुकुल शिक्षा प्रणाली तत्कालीन परिवेशमा प्रचलित थिए । ‘सादा जीवन उच्च विचार’भन्ने मूलमन्त्र भएको गुरुकुल शिक्षा प्रणालीमा निशुल्क शिक्षा दिने गुरु र शिष्यबीचको सम्बन्ध अत्यन्त प्रगाढ हुन्थ्यो । तर, हाल पाश्चात्य परम्पराको बढ्दो प्रभाव र शिक्षामा भएको शुल्कप्रणालीले गुरु शिष्यबीचको सम्बन्ध त्यत्ति प्रगाढ र आत्मीय भए झैं देखिँदैन । तर पनि ज्ञानदाता गुरुलाई सम्मान गर्ने, गुरु आज्ञापालन गर्ने र गुरुप्रति अपार श्रद्धाभाव प्रकट गर्न वर्षको एक दिन गुरुपूर्णिमा मनाउने परम्परा अद्यापि प्रचलित हुनु सराहनीय कुरा हो ।
प्रतिवर्ष ज्योतिषीय गणनामा आधारित चान्द्रमान महिनाको आषाढशुक्ल पूर्णिमालाई ‘गुरुपूर्णिमा’ नामकरण गरी आफूलाई ज्ञान दिने गुरुप्रति सच्चा हृदयले सम्मान र आदरभाव प्रकट गर्ने नेपाली समाजमा प्राचीन परम्परा छ । यस दिनलाई व्यासपूर्णिमा पनि भन्ने गरिन्छ । अनेक पुराणहरू लेखेर ज्ञानको ज्योति फिजाउने वेदव्यासकै कोटीमा ज्ञानदाता गुरुलाई राख्नु गुरुप्रति व्यक्त गरिएको अपार श्रद्धा हो । बौद्धिक चेतनाका कारणले उच्च कोटीमा गनिएको मनुष्यलाई समेत दिव्यज्ञानको रसाश्वादन गराउन सफल सबै गुरुहरू वास्तवमा पूजनीय र स्मरणीय हुन्छन् । वर्षभर सद्ज्ञान वितरण गरेर बौद्धिक चेतना जगाउने गुरुको सद्वचन पालना गरी गुरुपूर्णिमाका दिन विशेष सम्मान प्रकट गर्नु विद्यानुरागी सम्पूर्ण विद्यार्थीवृन्दको परमकर्तव्य हुन आउने भएकाले गुरु वा व्यासपूर्णिमालाई सोही रूपमा मनाउनु शास्त्रसम्मत हुन आउँछ ।
कपिलदेव भट्टराई
-ज्योतिषाचार्य– सिद्धान्त एवं फलित)
उपप्राध्यापक
ने.सं.वि.कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपुर (ब.सु.पू.)
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
दिव्य ।हार्दिक प्रणाम गुरुजी।
धेरै धेरै धन्यवाद हजुर प्रणाम् ।