जनैपूर्णिमाको वैज्ञानिक पक्ष
————————————-
चान्द्रमान अनुसार श्रावण महिनाको शुक्लपक्षको पूर्णिमालाई जनैपूर्णिमा भनिन्छ । वैदिक कालदेखि नै द्विजाति (जनै लगाउने संस्कार भएका)–हरूका लागि यस दिनलाई आत्मशोधन गराउने पुण्य पर्वका रूपमा लिने गरिएको पाइन्छ । अज्ञानवश वा भूलवश गरिएका दोषयुक्त कृत्यहरूको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरू नदोहोऱ्याई सत्मार्गमा अभिप्रेरित हुनका लागि यस दिन प्रातकालमा नदीतीर्थ वा जलाशय तटमा सम्मिलित भई वैदिक विधि अनुसार सङ्कल्पोच्चारणपूर्वक स्नान गरी सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामहरूद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरू गरिन्छन् । कात्यायन स्मृति, आन्हिक र प्रयोगपारिजात जस्ता ग्रन्थहरूले जनैपूर्णिमाको महत्त्वगान गरेका छन् । श्रावणी उपाकर्मद्वारा सुसंस्कृत भई वैदिक मन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवीत (जनै) यस दिन धारणा गरिने भएकाले यस पर्वलाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो ।
पूर्वीय संस्कार अनुसार श्रावणी उपाकर्मका १. स्नान तथा तर्पण, २. सूर्योपस्थान र ऋषिपूजन तथा ३. यतज्ञोपवीत धारण गरी तीन अङ्गहरू हुन्छन् । यी तीनै कामहरू शरीर, मन र आत्मशुद्धि विशेषका लागि सम्बन्धित मानिन्छन् । यस दिन प्रारम्भमा ‘हेमाद्रि’ प्रणीत महासङ्कल्पोच्चारण गरी स्नान गर्ने क्रममा ज्ञात, अज्ञात अवस्थामा गरिएका सम्पूर्ण कार्यहरूको उच्चारण र मनन गर्ने गरिन्छ । स्नान गर्दा ‘ॐ जलमिति भस्म स्थलमिति भस्म…’आदि मन्त्रोच्चारणका साथ भस्मस्नान गरिन्छ । भस्म भनेको खरानी हो । यज्ञशेषको रूपमा प्राप्त भस्मलेपन गरी स्नान गर्दा छाला सम्बन्धी रोग निवारण हुने वैज्ञानिक तथ्य पाइन्छ । आयुर्वैदिक औषधिहरूमा स्वर्णभस्म, मुक्ताभस्म, अभ्रखभस्म जस्ता अमूल्य औषधिहरू रोग निदानमै उपयोग गरिने भएकाले जनै पूर्णिमाका दिन गरिने भस्मस्नान औचित्यपूर्ण देखिन्छ । जनैपूर्णिमा पर्ने वर्षा ऋतुमा वनजङ्गलमा प्रशस्त मात्रामा वनौषधिहरू उत्पन्न हुन्छन् । गाईहरू वनजङ्गलमा चर्ने र चरनका क्रममा घाँसका रूपमा खाएका औषधिहरूको सेवनले संशोधित भएको गोमय (गोबर)–स्नान किटाणु नाशक देखिन्छ भने प्रातस्नानका क्रममा कुश, जौ, दुबो, अपामार्ग(दतिवन) आदिको प्रयोगमा पनि वैज्ञानिकता लुकेको पाइन्छ । विविध जडिबुटी प्रयोग सहितको स्नानले बाहिरी शरीर शुद्धि भए झैँ पदार्थ विज्ञानका अनुसार गाईको दुध, दही, घिउ, गहुँत र गोबर मिश्रित पञ्चगव्य कफ, वात र पित्त जनित दोष निराकरण गर्न सक्षम मानिन्छ । हाम्रा लागि पञ्चगव्य स्नान विषनाशक, बुद्धिवर्धक एवं मूत्र–कृच्छ, दाद, अपस्मार, मृगीजस्ता रोग निवारणका लागि उपयोगी मानिन्छ । अतः हिन्दु परम्परा अनुसार हरेक धार्मिक कार्यको प्रारम्भमा पञ्चगव्य प्राशन गर्नुमा आर्यसंस्कृतिको स्वास्थ्य चिन्तन परम्परित रूपमै उच्चकोटिको रहेको देखिन्छ ।
हाम्रो मन र बुद्धिको प्रेरक सूर्य हो । सूर्यलाई प्राणीको आत्मरूप मानिन्छ । जनैपूर्णिमाका दिन दुबै हात उठाएर सूर्योपासना गर्नु निर्मल बुद्धि र कल्याणको याचना गर्नु हो । त्यस्तै ऋषिपूजनका क्रममा आफ्नो गोत्र र प्रवर उच्चारण गरिने हुँदा आफ्ना पूर्वजहरूको महानता र आफ्नो लघुताका बीच तुलना भई आफ्ना पूर्वज ऋषि समान बन्ने भावना जागृत हुने हुँदा यसबाट हामीमा कर्मच्यूत र पथभ्रष्ट बन्न नहुने प्रेरणा प्राप्त हुने देखिन्छ ।
भविष्यपुराणका अनुसार ‘महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र (धागो) आफ्ना पति देवराज इन्द्रको हातमा बाँधेर आफ्ना तमाम शत्रुदेखि श्रावणशुक्ल पूर्णिमाकै दिनमा अभयदान दिएकीले त्यसकै सम्झना र विश्वासमा जनैपूर्णिमाका दिनमा सुवर्ण, अक्षता, सर्स्यूं, दुबो, सर्वोषधि आदि पदार्थहरूद्वारा वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित रक्षाबन्धन बाँध्ने प्रचलन चलेको हो । यस पर्वमा धारण गरिएको रक्षासूत्रले सम्पूर्ण रोग र अशुभ तत्त्वहरूलाई नाश गरी आगामी एक वर्षको अवधिमा मानिसमा आइपर्ने सम्पूर्ण विपत्तिहरूबाट सुरक्षित बनाइरहन्छ भन्ने शास्त्रीय प्रमाण भविष्यपुराणमा पाइन्छ ।
‘सर्वरोगोपशमनं सर्वाशुभविनाशनम् ।
सकृत् कृतेनाब्दमेकं येन रक्षा कृता भवेत् ।।’
त्यस्तै “जुन प्रयोजनका लागि यो रक्षासूत्र महाबली सम्राट् बलीलाई बाँधिएको थियो त्यही प्रयोजन स्वरूप हे रक्षासूत्र ! आज म तिमीलाई बाँधिरहेको छु । अतः तिमी पनि आफ्नो निश्चित उद्देश्यमा विचलित नभई दृढ बनेर बस” भन्ने भाव प्रकट गर्दै बाँधिने रक्षासूत्रले मानव मनमा आत्मवलअभिवृद्धि गराउने देखिन्छ । दाहिने हातमा बाँधिने रक्षासूत्रलाई यसप्रकार पौराणिक मन्त्रोच्चारण गर्दै बाँधिने गरिन्छ –
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे ! मा चल मा चल ।।!’
रक्षासूत्र अभिमन्त्रण समयमा रक्षासूत्र पूजनमा प्रयोग गरिने सर्वोषधि, सर्स्यूं, दुबो, अक्षता, जौ, चन्दन आदि वस्तुमा किटाणु नाशक र रोग निरोधक तत्त्व पाइन्छ । यस कारण वादल लागेर सूर्यप्रकाश अभाव भएको यस समयमा रक्षासूत्र धारण गर्दा रोग प्रतिरोधकको काम पनि हुन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ । अझ योभन्दा बढी रक्षासूत्र बाँध्दा पढिने मन्त्रमा ‘रक्षासूत्र धारण गरेपछि एक वर्ष अवधिभर तिमी रक्षित भयौ, तिमीलाई कुनै पनि कुराको भय हुँदैन’ भन्ने वाक्यले मानिस मानसिक रूपमा समेत स्वस्थ हुनजान्छ । यो नै श्रावणी पूर्णिमाको उच्चतम उपलब्धि हो ।
रक्षासूत्रलाई स्थान विशेषले ‘राखी’, ‘तावा’, ‘रक्षाबन्धन’, ‘डोरो’, ‘जनैधागो’ आदि नामकरण गरी गुरुपुरोहित, ज्वाइँभाञ्जा वा दिदीबहिनीबाट बाँध्न लगाइने चलन पनि नेपाली समाजमा रहेको पाइन्छ । वर्तमान समयमा तराई क्षेत्रमा ‘राखी’का नामले प्रसिद्ध रक्षासूत्रलाई दिदीबहिनीबाट हातमा बाँध्न लगाइन्छ जसका कारण दिदीबहिनीले सहोदर दाजुभाइ बाहेकका दोस्रो व्यक्तिसँग पनि पवित्र भगिनी सम्बन्ध गाँस्न सक्दछन् । यसलाई जनैपूर्णिमा पर्वकै पवित्र पक्ष मानिन्छ । यस दिन हिन्दु परम्परा अनुसार जनै लगाउने जाति विशेषले कतै पनि नचुँडाई विधिपूर्वक पञ्चशिखा बनाएर वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित नव यज्ञोपवीतलाई धारण गरी पुरानो जनैलाई त्याग्ने चलन छ भने ऋषि पूजन र ऋषि तर्पण जस्ता पवित्र कामहरू सम्पादन गर्ने परम्परा समेत विद्यमान छ । ऋषितर्पणीका लागि अघिल्लो दिनमा कपाल मुण्डन गरेर उपवास बसी भोलिपल्ट प्रातकालमै गङ्गादि तीर्थ तटमा गई विधिपूर्वक स्नान गरी ऋषि तर्पणी गर्ने चलन नेपाली हिन्दु समाजमा प्रचलित छ । त्यस्तै गुरु पुरोहितका हातबाट रक्षासूत्र हातमा बाँध्ने चलन राष्ट्राध्यक्षदेखि सामान्य गृहस्थीसम्ममा पनि चलिआएको देखिन्छ ।
नेवारी भाषाबाट नेपाली भाषामा आएको ‘क्वाँटी’ शब्दले विभिन्न गेडागुडीको मिश्रित समूहलाई जनाउँछ । कृषिप्रधान मुलुक नेपालमा जनै पूर्णिमा पर्वसम्ममा खेतबारीमा वर्षामासको खनजोत गर्ने काम समाप्त भइसक्ने र वर्षाकालमा खेती किसानी गर्दा थकित र सरदी भएको शरीरलाई उष्णता एवं शक्ति दिन विभिन्न नौ थरि गेडागुडी मिसाएर बनाएको ‘क्वाँटी’खाने चलन पनि छ जुन स्वास्थ्य विज्ञानका दृष्टिले पथ्याहार समेत मानिन्छ ।
यसरी विभिन्न दृष्टिकोणले महत्त्वपूर्ण मानिने श्रावणी पूर्णिमा अर्थात् जनैपूर्णिमाको महत्त्वलाई हृदयङ्गम गरी यस दिन सरकारले राष्ट्रियपर्व मनाउने निर्णयका साथ सार्वजनिक बिदा दिने गरेको छ भने काठमाडौं उपत्यकाको हकमा भोलिपल्ट गाईजात्रा पर्वका दिनमा पनि सार्वजनिक बिदा दिने पुरानो प्रचलन रहेको देखिन्छ । यसकारण परापूर्वकालदेखि राष्ट्रियस्तरमा नै महत्त्व दर्शाउन सक्षम यस पर्वलाई विकृतितर्फ नमोडी यसकै महत्त्वको कसीमा राखेर हेर्नु हामी परम्पराप्रेमी नागरिकको कर्तव्य हुन आउँछ । अस्तु ।।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
समसामयिक पर्व विशेषमा अाधारित खाेजमूलक लेख सारै मन पर्याे।यस भित्र स्नान विषयमा दस किसिमकाे स्नान,श्रावणी शब्दकाे विवेचन तथा उपाकर्म शब्दकाे तात्पर्य समेत राख्न पाएकाे भए अझ लाभदायी हुने थियाे।जय हाेस्।
प्रतिकृया दिनुभएकोमा हार्दिक आभार व्यक्त गदछौँ ।
हजुरको सल्लाह सुझाव लाई हामी मनन गर्ने छौँ ।
आगामी दिनमा पनि हजुरको यस्तै साथ, सहयोग, सुझाव र मायाको अपेक्षा गर्दछौँ ।
पुनः धन्यवाद ।