वेदाङ्ग ज्योतिष र सिद्धान्तशिरोमणि : एक परिचय
१. विषय प्रवेश
विभिन्न शास्त्रीय विषयवस्तुहरू अङ्गीकार गरी अपरिमित ज्ञानराशी भण्डार गर्ने संस्कृत वाङ्मय विश्ववाङ्मयमै मूर्धन्य विधा मानिन्छ । अनन्त आकाशमा रहेका सूर्यचन्द्र लगायतका ज्योतिरूपी आकाशीय पिण्डहरूको गतिस्थिति आदिका बारेमा अध्ययन गर्ने शास्त्रलाई ज्योतिषशास्त्र भनिन्छ । आकाशमा रहेको सम्पूर्ण पिण्डहरूका बारेमा ज्योतिषशास्त्रले विशेष अध्ययन गर्ने भएकाले पनि सम्पूर्ण आकाशीय क्षेत्र नै यसको अध्ययनक्षेत्र मानिन्छ । ग्रह, उपग्रह, तारा, तारापुञ्ज, धूमकेतु, पुच्छ्रेतारा आदि सबै ज्योतिषशास्त्रको अध्ययन क्षेत्र मानिने भएकाले यसलाई खगोल शास्त्र पनि भनिन्छ । संसारकै दुई आँखा मानिने सूर्य र चन्द्र नै ज्योतिषशास्त्रका अनुसन्धेय विषयवस्तु हुने भएकाले यसलाई प्रत्यक्षशास्त्र मानिन्छ । ‘प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ’ भन्ने वचनले पनि यही कुरालाई पुष्टि गर्दछ । यो लेखमा वेद र उपवेदका साथै वेदाङ्गको अङ्गस्वरूप मानिएको ज्योतिष शास्त्रको विविध पुस्तकहरूमध्ये लगध मुनिद्वारा लिखित वेदाङ्ग ज्योतिष र भास्कराचार्यद्वारा लिखित सिद्धान्तशिरोमणिका विषयमा आवश्यक जानकारी दिने प्रयास गरिएको छ ।
२. वेदवेदाङ्गपरिचय
संस्कृतवाङ्मयमा दर्शन शिरोमणि मानिने वेद अपौरुषेय ग्रन्थ मानिन्छ । ऋग्वेद, यजुर्वेद, सामवदे र अथर्ववेद गरी चार भागमा विभक्त वेदका आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद र अर्थवेद गरी क्रमशः चार उपवेदहरू छन् । अथर्ववेदलाई अर्थशास्त्रपनि भनिन्छ ।
वेदमा मन्त्र, कर्मकाण्ड, ज्ञान, औषधितन्त्र आदि विभिन्न ज्ञानराशि पाइन्छ । पूर्णतः लोक-कल्याणमा प्रवृत्त वेद यज्ञकर्म सम्पादनमा उन्मुख हुन्छन् । यज्ञयागादि सम्पादनका लागि उपयुक्त काल र मुहूर्त आवश्यक पर्दछ । काल गणना र मुहूर्त निर्धारण ज्योतिषशास्त्रले गर्दछ । त्यसकारण ज्योतिषशास्त्रलाई वेदाङ्ग मानिन्छ ।
वेदास्तावद्यज्ञकर्मप्रवृत्ता यज्ञाः प्रोक्तास्ते तु कालाश्रयेण ।
शास्त्रादस्माद् कालबोधो यतः स्याद्वेदाङ्गत्वं ज्योतिषस्योक्तमस्मात् ।
(सिद्धान्तशिरोमणि कालमानाध्याय-१०)
वटेश्वराचार्यको वटेश्वर सिद्धान्त, श्रीपतिको सिद्धान्तशेखर, पाणिनीय शिक्षा, बृहद् वशिष्ठसिद्धान्त लगायतका ग्रन्थहरूमा पनि वेदाङ्गकै रूपमा स्वीकारिएको ज्योतिषशास्त्रलाई वेदाङ्ग ज्योतिषमा लगधमुनिले पनि सोही मानेको देखिन्छ ।
वेदा हि यज्ञार्थमभिप्रवृत्ताः कालानुपूर्ण्या विहिताश्च यज्ञाः ।
तस्मादिदं कालविधानशास्त्रं यो ज्योतिषं वेद स वेद ज्ञानम् ॥ (आर्षज्योतिष-३)
शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष शास्त्रलाई वेद कै अङ्ग मानिएकाले यी सबै शास्त्रहरू वेदाङ्ग हुन् । पूर्वीय आचार्यहरूले व्याकरणलाई वेदको मुख, ज्योतिषलाई आँखा, निरुक्तलाई कान, शिक्षालाई नाक, छन्दलाई खुट्टा (चरण) र कल्पलाई हात मानेको कुराको पुष्टि सिद्धान्तशिरोमणिमा पाइन्छ । यसको उल्लेख भास्कराचार्यले यसरी गरेका छन् –
शब्दशास्त्रंमुखं ज्योतिषं चक्षुषी श्रोत्रमुक्तं निरूक्तं च कल्पः करौ ।
या तु शिक्षाऽस्य वेदस्य सा नासिका पादपद्मद्वयं छन्दः आद्यैर्बुधैः ॥
(सिद्धान्तशिरोमणि, कालमानाध्याय-१०)
वेदको अङ्ग भएर विश्वद्रष्टा आँखाको संज्ञा पाएको ज्योतिषलाई सम्पूर्ण शास्त्रहरूको शिरोमणि मानिएको कुरा लगधमुनिले वेदाङ्ग ज्योतिषमा पनि उल्लेख गरेका छन् ।
यथा शिखा मयूराणां नागानां मणयो यथा ।
तद्वद्वेदाङ्गशास्त्राणां गणितं मूर्धनि स्थितम् ॥ (याजुषज्योतिष-४)
३. वेदाङ्ग ज्योतिष र लगधमुनि
समग्र ज्योतिषशास्त्र नै वेदाङ्ग भएपनि ज्योतिष विधामा ‘वेदाङ्ग ज्योतिष’ नामक एक प्रसिद्घ ग्रन्थ छ । लगधमुनिद्वारा रचिएको ‘वेदाङ्ग ज्योतिष’ प्राचीन ग्रन्थ मानिन्छ । सिद्धान्त ज्योतिषको विषयवस्तु प्रतिपादन गरिएको वेदाङ्ग ज्योतिषको उल्लेख मैत्रायणी ब्राह्मणोपनिषद्, बौधायन श्रौतसूत्र, महाभारत, ब्रह्मवैवर्त पुराण, ब्रह्माण्डपुराण, भविष्यपुराण, वायुपुराण, विष्णुपुराण, भागवतपुराण, मत्स्यपुराण, लिङ्गपुराण, स्कन्धपुराण, देवीभागवत, विष्णुधर्मोत्तर पुराण, शिवपुराणको कैलाशसंहिता, कौटलीय अर्थशास्त्र, पाणिनीय व्याकरण भाष्य, चरकसंहिता, सूश्रुतसंहिता, अष्टाङ्गहृदय, बृहत्संहिताको भट्टोत्पल टीका, काशिकापदमञ्जरी, कालमाधव, मुहूर्तचिन्तामणिको पीयूषधारा टीका, गोपीनाथद्वारा लिखित संस्काररत्नमाला र महीधरले गरेको शुक्लयजुर्वेदको व्याख्यामा समेत भएको पाइन्छ । (आचार्यः इ.सं.२००५:१०-११) । वेदाङ्ग ज्योतिषमा युग, वर्ष, अयन, ऋतु, मास, पक्ष, पर्व, तिथि, विषुवत् तिथि, नक्षत्र, अधिकमास आदि विषयवस्तु उल्लेख गरेको पाइन्छ । माघशुक्लादि वर्षगणना रहेको वेदाङ्गज्योतिष चान्द्रमानमा आधारित रहेको छ । हाल प्रचलनमा रहेको सूर्यसिद्धान्तीय गणनामा आधारित नेपाली पञ्चाङ्गहरूमा सौरमान र चान्द्रमान दुवै उपयोगी सिद्ध रहेको छ । चैत्रशुक्लादि तिथि गणना रहेको नेपालमा प्रचलित पञ्चाङ्ग परम्परा वेदाङ्ग ज्योतिषमा पाइन्न । त्यस्तै बार्हस्पत्यमानका संवत्सर, क्षयमास, मेषादि राशि, सौरसङ्क्रान्ति, आदित्यादि सात बारहरू, सूर्यचन्द्रादि ग्रहण, मंगलबुधादि ग्रहहरू र बृहस्पति र शुक्रको उदयास्त सम्बन्धी चर्चा पनि वेदाङ्ग ज्योतिषमा पाइन्नन् । याजुष र आर्च ज्योतिष भनी विभाजन गरिएको वेदाङ्ग ज्योतिषमा श्लोकसंख्या त्यति धेरै देखिदैँन । याजुष ज्योतिषमा विभिन्न छन्दमा रचिएका ४४ श्लोकहरू र आर्च ज्योतिषका ३६ श्लोकहरू गरी जम्मा ८० श्लोकहरू रहेका छन् । मङ्गलाचरणदेखि ज्योतिषको प्रशंसा गरिएका वेदाङ्ग ज्योतिषमा गणित क्रियाहरू पनि उल्लेख भएका छन् । सोमाकर-सुधाकर भाष्यले व्यापक स्थान पाएको वेदाङ्ग ज्योतिषको व्याख्या संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषामा समेत भएको पाइन्छ । नेपाली विद्वान् शिवराज आचार्य कौण्डिन्न्यायनको समेत विशेष संस्कृत र हिन्दी व्याख्या रहेको वेदाङ्ग ज्योतिषलाई नेपाली भाषामा भने कुनै पनि विद्वान्–ले व्याख्या गरेको पाइन्न । वेदकै नामबाट नामकरण गरिएको आथर्व ज्योतिषमा फलित ज्योतिष सम्बद्ध विषयवस्तु राखिए पनि यो वेदाङ्ग ज्योतिष विषय अन्तर्गत पर्दैन । गिरिजाशङ्कर शास्त्रीले सम्पादन गरेको वेदाङ्ग ज्योतिषमा केही थप विषयवस्तुलाई छुट्टै अध्यायमा राखेर पुस्तक तयार गरेपनि आथर्व ज्योतिष वेदाङ्ग ज्योतिष अन्तर्गत नपर्ने देखिन्छ ।
ज्योतिष ग्रन्थहरूमा प्राचीनतम रूप मानिने वेदाङ्ग ज्योतिषका प्रणेता लगधमुनिको जन्मस्थानका विषयमा विद्वान्-हरूका बीच मतैक्य पाइन्न । ‘छोटेलाल बार्हस्पत्य’ ले लगधमुनिलाई प्राचीन बर्बर देशीय मानेका छन् भने शङ्कर बालकृष्ण दीक्षितले कश्मीरदेशी भनी सङ्केत गरेका छन् (आचार्यः, सन् २००५: ४६) ।
३.१ वेदाङ्ग ज्योतिष ग्रन्थरचनाकाल
प्राचीन भएपनि वर्तमान समयमा प्रचारका दृष्टिले ओझेलमा परेको वेदाङ्ग ज्योतिषको खासै अन्वेषण हुन सकेको छैन । लगधमुनिको जन्मस्थान निश्चित नभए जस्तै वेदाङ्ग ज्योतिषको रचनाकालका सम्बन्धमा पनि विद्वान् हरूका बीच मतविभेद रहेको देखिन्छ । सुधाकर द्विवेदीले ‘अस्य रचना भारतात् पूर्वं मन्मते’ भन्दै यसको रचना महाभारत कालभन्दा पहिले नै हो भनी आफ्नो मत प्रस्तुत गरेका छन् (आचार्यः, सन् २००५: ४५) ।
भारतीय ज्योतिषका रचनाकार शङ्कर बालकृष्ण दीक्षितले इ.पू. १४१० लाई यसको रचनाकाल मानेका छन् । (दीक्षित, सन् १९७५ :१२२) ।
वेदाङ्ग ज्योतिषका अर्का व्याख्याता शामशास्त्रीले आफ्नो ‘दीपिका व्याख्या’ को प्रारम्भमै शकसंवत् सुरु हुनु भन्दा हजार वर्ष अघि वेदाङ्ग ज्योतिषको रचना भएको कुरा यसरी बताएका छन् ।
वेदाङ्गज्योतिषं लोके यज्ञकालार्थ सिद्धये ।
प्रणीतं शककालात् प्राग् वत्सराणां सहस्रके ॥
त्यसैगरी कोलब्रूक, बेण्टली, प्राट, म्याक्समूलर, याकोबी लगायतका पाश्चात्य समालोकहरूले पनि वेदाङ्ग ज्योतिषको रचनाकालका सम्बन्धमा शङ्कर बालकृष्ण दीक्षितले उल्लेख गरेकै कालखण्डलाई स्वीकारेको कुरा सन् १९८३ मा प्रकाशित ‘वैदिक वाङ्मयका बृहद् इतिहास’ नामक ग्रन्थको छैठौँ खण्ड (पृष्ठ १४२) मा अन्वेषक कुन्दनलाल शर्माले उल्लेख गरेका छन् । (आचार्यः, इ.सं.२००५ :४६)
४. भास्कराचार्य र सिद्धान्तशिरोमणि
शकसंवत् १०३६ मा सह्यपर्वतको निकटवर्ती विज्जडविड नामक गाउँमा जन्मिएका शाण्डिल्य गोत्रीय भास्कराचार्य महेश्वरका पुत्र हुन् । ३६ वर्षको उमेरमा शकसंवत् १०७२ मा सिद्धान्तशिरोमणि नामक ग्रन्थ लेखेर अद्वितीय प्रतिभाशाली विद्वान्–का रूपमा चिनिएका भास्कराचार्यले यसको उल्लेख सिद्धान्तशिरोमणिमा आफैँले गरेका छन् ।
रसगुणपूर्णमही १०३६ समशकनृपसमयेऽभवन्ममोत्पत्तिः ।
रसगुण ३६ वर्षेण मया सिद्धान्तशिरोमणी रचितः ॥
आसीत् सह्यकुलाचलाश्रितपुरे वैविद्यविद्वज्जने
नानासज्जनधाम्नि विज्जडविडे शाण्डिल्यगोत्रो द्विजः ।
श्रौतस्मार्तविचारसारचतुरो निःशेषविद्यानिधिः
साधूनामवधिमहेश्वरकृती दैवज्ञचूडामणिः ॥
(सिद्धान्तशिरोमणि, प्रश्नाध्याय ५८-६१)
भास्कराचार्यले सिद्धान्तशिरोमणिको पहिलो खण्डलाई पाटीगणित, दोस्रोलाई बीजगणित, तेस्रोलाई गणिताध्याय र चौथोलाई गोलाध्याय भनी आफैँले नामकरण गरेका छन् । पाटीगणित अन्तर्गतको लीलावती र दोस्रोखण्डको बीजगणितलाई स्वतन्त्र पुस्तकका रूपमा लिइएको छ भने तेस्रो र चौथो खण्डलाई ज्योतिषशास्त्रको मूल भाग मानिएको छ । गोलाध्यायलाई समग्र सिद्धान्तशिरोमणिको उपपत्ति भाग मानिन्छ । सिद्घान्तशिरोमणिमा मध्यमाधिकार, स्पष्टाधिकार, त्रिप्रश्नाधिकार, पर्वसम्भवाधिकार, चन्द्रग्रहणाधिकार, सूर्यग्रहणाधिकार, ग्रहच्छायाधिकार, ग्रहोदयास्तधिकार, श्रृङ्गोन्नत्याधिकार, ग्रहयुत्यधिकार, पाताधिकार जस्ता अध्यायहरू छन् भने गोलाध्याय अन्तर्गत गोलप्रशंसा, गोलस्वरूपाध्याय, भुवनकोश, मध्यगतिवासना, छेद्यकाधिकार, गोलबन्धाधिकार, त्रिप्रश्नवासना, ग्रहणवासना, उदयास्तवासना, शृङ्गोन्नतिवासना, यन्त्राध्याय, ऋतुवर्णनाध्याय, प्रश्नाध्यायजस्ता अध्यायहरू रहेका छन् । ग्रन्थकार भास्कराचार्यको ‘वासनाभाष्य’ नामक टीका रहेको सिद्धान्तशिरोमणिमा विभिन्न विद्वान् हरूले टीका गरेको पाइन्छ ।
५. निष्कर्ष
लेखनका हिसाबले धैरै समयअघि लेखिएर पनि ओझेलमा परेको वेदाङ्ग ज्योतिष र पछिल्लो समयमा लेखिएर पनि प्रसिद्धि कमाएको सिद्धान्तशिरोमणि दुवै ज्योतिष विधाका सिद्धान्तस्कन्धका महत्त्वपूर्ण ग्रन्थहरू हुन् । दुवैमा प्रतिपाद्य विषयहरू समान सिद्धान्तबाट अनुप्राणीत भएपनि विषय प्रस्तुतिमा स्पष्ट भिन्नता रहेको सन्दर्भमा दुवैका बीच तुलनात्मक विश्लेषण गरिनु सान्दर्भिक देखिन्छ । त्यसकारण लगधमुनिको वेदाङ्ग ज्योतिष र भास्कराचार्यको सिद्धान्तशिरोमणिका विषयवस्तुहरू बीचको समानता र समानता बीचको भिन्नता केलाउनु आवश्यक ठानी अनुसन्धाताले आफ्नो अनुसन्धानलाई केन्द्रित गर्नु उपयोगी देखिन्छ ।
यस विषयसँग सम्बन्धित थप जानकारी चाहनुहुन्छ भने तल कमेन्टमा आफ्ना भावनाहरू Comments गरिदिनुहोस् । साथै धेरै जानकारीका लागि यसै Webside बाट प्रसारण हुने आगामी अङ्कहरूको प्रतीक्षा गर्नुहोस् । धेरै धेरै धन्यवाद ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
खोजमूलक प्रस्तुतिका लागि हार्दिक धन्यवाद गुरु ।
धन्यवाद हजुर ।