मानव चेतनशिल प्राणी हो । मानवले आफ्नो हिड्ने, बोल्ने, रहन सहनकार्य आदिलाई अझै सव्य र भव्य बनाउनका निमित्त विभिन्न कार्यहरू गर्ने गर्दछ । त्यस्तै कार्यहरू गर्ने क्रममा विभिन्न युगयुगान्तरमा कला, संस्कृति, संस्कार, चाडपर्व, आदिको विकाश हुँदै आएको छ । युगका विभिन्न कालखण्डमा प्रारम्भ भएका कला, संस्कार, संस्कृति, चाडपर्व आदिका छाप अहिले पनि हाम्रा समाजमा प्रसस्त पाइन्छन् । जसले एक अर्कालाई नजिक बनाई आत्मियता बढाउँदछ । त्यसकै एक ज्वलन्त उदाहारण हिन्दूहरूको महान चाडपर्वहरू मध्येको एक महत्त्वपूर्ण चाड तिहार पनि हो ।
‘तमसोमा ज्योतिर्गमयको’ आभाष गराउँने यो पर्व हिमाल, पहाड, तराई, पूर्व पश्चिम उत्तर, दक्षिण, जात–जाति, धर्म संस्कार, संस्कृति, देश, हिन्दू, वुद्धिष्ट, शिख, जैन, आदि सर्वत्र धेरै ले आ–आफ्नै रितिरिवाज परम्परा अनुरुप अनेकतामा एकताका साथ मनाउने गरेका छन् । जीवनमा अज्ञानरुपी अन्धकारलाई हटाएर ज्ञानरुप प्रकाश प्रवेश गर्नु र गराउँनु पर्छ भन्ने सन्देश बोकेको पर्व हो तिहार । त्यसैले यसलाई प्रकाश वा उज्यालो(दीप)को पर्व पनि भनेर दीपावली पनि भनिन्छ । ।
कार्तिक कृष्ण पक्षको त्रयोदशीबाट सुरू भई कार्तिक शुक्लपक्ष द्वितीयाको दिन समाप्त हुने पाँच दिन सम्म मनाइने यो पर्व धर्मराज यमराजसँग सम्बन्धित रहेकाले यसलाई ‘यमपञ्चक’ भनिन्छ । यमराज आफ्नी बहिनी यमुनाको घरमा पाँचदिनसम्म बसेर टिका आदि ग्रहण गर्ने हुँदा यस अवधिभित्र मर्ने मानिसले यमयाताना भोग्नुपदैन भन्ने लोककथन प्रचलित छ ।
“शुनि चैव श्वपाके च पण्डिता समदर्शिनः (गीता ५।१८)”
अर्थात् ज्ञानि वा विद्वान जनले सबैलाई समान दृष्टिले हेर्नुपर्दछ भन्ने गीताको यस पङ्क्तिलाई यस पर्वले अझ सहज र सरल रूपमा प्रष्ट पारेको छ । यस पर्वमा काग, कुकुर, गाई, गोरू, प्रकृति, मानव आदि सबैको पूजा गरिन्छ । हिन्दूधर्मको सरलतामा व्यापकता दैनिक जीवनमा प्रकृतिपूजा साथै समस्त प्राणीमा ईश्वरको पूजा हुने यो दोस्रो ठुलो पर्व पनि हो ।
कार्तिक कृष्ण त्रयोदशीको दिनमा यमराजको दूतमा रूपमा कागको पूजा गरिन्छ । कागले पहिले पहिलेको समयमा सन्देश वाहकको रूपमा रहेर मानिसहरूको सेवा गर्दथ्यो । त्यसैले कागराजा भनेर सम्बोधन गरी मिठा–मिठा खानेकुरा खुवाएर काग तिहार मनाइन्छ ।
कागतिहारको भोलिपल्ट चतुर्दशीका दिन स्वामी भक्त, आज्ञाकारी र हाम्रो सुरक्षा समेत गर्ने कुकुरको समेत पूजा गरिन्छ । कुकुर मानिससँग मित्रता गरेर मानिसलाई धेरै सहयोेग गर्ने जीव हो । यस पर्वलाई नर्के चतुर्दशी पनि भन्ने गरिन्छ । यस दिनमा बत्तिहरू वालेर फलफूलहरूले सहित सामाग्रीहरूले पूजा गरेर नदी आदि तीर्थमा गएर बगाउँनाले नरक जानु पर्दैन भन्ने लोक प्रचलन पद्धति पनि सुनिन्छ ।
दीपावलीको मुख्य दिनहरू मध्ये एक हो कार्तिक कृष्ण आमावश्या(औँसी) । यस दिन बिहान लक्ष्मीको स्वरूप गाईको पूजा गर्नु पर्दछ । यसदिन गरिने सम्पूर्ण वैदिक पूजा पाठ आदिले जीवनमा आर्थिक अभाव हुन दिदैन, सुख–समृद्धि, एैश्वर्य, आयु, आरोग्य, धन धान्यको समेत बृद्धि गराउँदछ । यस दिन घर, अफिस आदि स्थानमा सरसफाई गरि घरको बाहिर ढोका आँगन वा तुलसीमठबाट गाईको गोबर, रातो माटोले लिपेर चामलको पीठो अन्य विविध रङ्गहरूले रङ्गावली(रेखी) हालेर चारै तिर बत्तिहरू बालेर विविध सामाग्रीहरूले सजाएर लक्ष्मी माताको पाईला आदि बनाउँदै पूजा कोठा सम्म लगेर पूजा कोठामा धन धन्य सम्पत्तिहरू एकिकृत गरेर स्थिर लक्ष्मीको आराधना गर्नु पर्दछ ।
लक्ष्मीको पूजा गर्दा केहि महत्त्वपूर्ण विषयलाई ध्यान दिएर गरियो भने मात्र अत्यन्त सुख मिल्दछ अन्थथा जीवनमा लक्ष्मी सुख कहिल्यै पनि हुँदैन । घरमा लक्ष्मी पूजा गर्दा लक्ष्मीमाता बसेर आशिर्वाद दिदै गरेको तस्विर वा प्रतिमा राखेर पूजा गर्नु पर्दछ । त्यस्तै आफ्ना कलकारखाना, कार्यलय, आदि व्यापारिक क्षेत्रमा भने लक्ष्मीमाताको उठेर आशिर्वाद दिदै गरेको तस्वीर राखेर पूजा गर्नु पर्दछ । यसरि पूजा गर्दा लक्ष्मी(धन) स्थिर हुन्छ साथै अधिक फजुल खर्च हुँदैन ।
अन्य पूजा सकिएपछि विसर्जन गर्ने नियम रहेको भए पनि लक्ष्मी पूजामा विसर्जन गर्न हुँर्दैन । यदि विसर्जन गरियो भने त्यस स्थानमा(घर वा अफिस आदिमा) धनको आगमन कम र भएको लक्ष्मी पनि अस्थिर हुन्छ । पूजा गर्दा पूर्व फर्केर दीप, गणेश, कलश आदिको पूजा गरेर लक्ष्मी पूजा गर्दा अझै उत्तम मानिएको छ । यस दिन सम्भव भएसम्म गुरु, पुरोहित, मान्यजनका साथै स–परिवार भएर वैदिक विधिद्वारा विभिन्न पूजा पाठ आदि गर्दै अनुष्ठान गर्नु पर्दछ । यसरि पूजा गर्नाले घर परिवारमा शान्ति यस एैश्वर्यका साथै पुण्यको समेत बृद्धि हुन्छ, सत कर्ममा मात्र खर्च हुन्छ, सुस्वास्थ्य प्राप्त हुन्छ, पापको नाश हुन्छ, बुद्धि विवेक बढ्दछ भन्ने कुरा शास्त्रहरूमा बताईएको छ ।
लक्ष्मीपूजाको भोलिपल्ट कार्तिक शुक्ल प्रतिपदाका दिन गोरूको पुजन गर्नु पर्दछ । स्कन्ध पुराणमा “कलौ अन्नः गता प्राणाः” अर्थात कलिमा प्राण अन्नमा अढिएको हुन्छ भनिएको छ । अन्न सबै कृषिबाट प्राप्त हुन्छ । कृषि गर्न गाई गोरूको अधिक भूमिका हुन्छ भने कुरा सर्वविदितै छ । त्यसैले लक्ष्मीको प्रतिकका रूपमा गाईपूजा र धर्मका प्रतिकका रूपमा गोरूपूजा गरिन्छ । यी नै गाईपूजा र गोरूपूजाका दिन सबै मिलिजुली रमाईलो गर्दौ द्यौसीभैलो खेल्ने चलन पनि रहिआएको छ । पुराणान्तर कथन अनुसार बलि राजाले वामन(बिष्णु) भगवानलाई तीन पाउ दिने वाचा गर्दा २ पाउ जमिन आदि मात्र दिएपछि तेस्रो पाउ राख्ने ठाउँ दिन नसकेपछि देउ शिर भन्दा भन्दै अपभ्रंशित भएर द्यौशिर भएको र यहि प्रकृया नै भन्दा भन्दै द्यौसिभैलोको रूपमा विकाश भएको हो ।
यसरि फरक फरक दिनमा फरक फरक तत्त्वहरूको पूजा गर्दै यस पर्वको अन्तिम वा मुख्य दिन कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटिका पर्दछ । यस दिन बिहानै आफ्ना दिदी बहिनी, दाजु भाई, सहित भएर ज्योतिषीहरूद्वारा तोकिएको शुभ साईतमा दीप, गणेश, कलश, यमराज, यमदूत, सूर्यादिनवग्रह, मार्कण्डेयादि अष्टचिरञ्जीविहरूको पूजा गर्नु पर्दछ । यति गरेर दिदी बहिनीले दाजुभाईलाई तेलको घेराले छेक्ने, ढोका अथावा कतै ओखर फुटाउँने कार्य समाप्त गरेर दाजुभाइलाई प्रचलित पद्धति अनुरुप (एकरङ्गी, सप्तरङ्गी) टिका आदि लगाई प्रार्थना गर्नु पर्दछ । दिदीबहिनीले भन्ने प्रार्थना मन्त्रः–
“आयुर्लक्ष्मीर्यशो धैर्यं निर्भयत्वमरोगिता ।
वाक्पटुत्वमजाड््यञ्च जायतां तव सवर्दा ।।”
भावार्थः– हे ! दाजुभाइ तपाईहरूको आयु, सम्पत्ति, यश, धैर्य, निर्भयता, निरोगिता, वाक् कला सदा सर्वदा बृद्धिहोस् भनेर दिदी बहिनीले फूललमाला, मिठाई पानले सहित दाजुभाइको पूजा तथा सत्कार गर्नु पर्दछ । त्यसै गरि दाजुभाइले पनि
“त्वं लक्ष्मीस्वमपर्णासि ब्राह्मी त्वं च सरस्वती ।
त्वत्पूजनात् भवेयुस्ता पुजिता मम सर्वदा ।।”
भावार्थः– हे ! दिदी बहिनी तपाईहरू लक्ष्मी, पार्वती, गायत्री, सरस्वती आदि स्वरूप हुनुहुन्छ । तपाईको पूजाले सबै देवीहरू प्रसन्न हुनुहुन्छ । त्यसैले म हजुरको पूजा गर्दछु भनेर बस्त्र, फलफूल, मिठाई, दान दक्षिणाले सहित दिदी बहिनीको पूजा गर्नु पर्दछ ।
यसरि एक अर्काको पूजा गर्नाले आत्मीयताका साथै एक अर्काको महत्त्व सदा सर्वदा बढ्दछ । पर्व मनाउँने आधार हिन्दूशास्त्र भए पनि जैन, बुद्धिष्ट, शिख आदि समुदाय पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै तिर विविध शैलीले मनाईने गरिन्छ ।
यसरि विश्वको कुना कुनामा रहनुहुने हिन्दूधर्माबलम्बीहरू सहित धेरैले आ–आफ्नै शैली अनुसार मनाइने यो पर्व धेरै नै महत्त्वपूर्ण रहेको कुरा पुष्टि हुन्छ । यो पर्व मानव बीच मात्र नभई पशुपंक्षी प्रकृतिसँग पनि त्यतिनै नजिक हुने र सबैलाई मान सम्मान गर्नु पर्ने उद्देश्य बोकेकोले पनि अत्यन्त महत्त्व रहेको छ । यसै कारण सबैले हर्षोल्लासका साथमा यो पर्व मनाउँदछन् ।
दिदीभाइको पर्व भनेर चिनिने यो पर्व दीपावली, दीपाली, यमपञ्चक, लक्ष्मीपूजा, तिहार, किजापूजा आदि गरेका छुट्टा छुट्टै नाम भाषा शैली र नाम, नाम अनुरूपको महत्त्व रहेको यस पर्व शास्त्रोक्त तथा परम्परागत नियम परिस्थित अनुसार मनाउँनु पर्दछ । यस पर्वमा रहेका विकृति विसङ्गतिहरूको अन्त्य गर्दै सव्य, भव्य सरलताका साथै सबैसँग भाइचारा व्यवहार गर्दै आ–आफ्नो योग्यता अनुरूप ‘घाँटी हेरि हाड निल्नु’ भन्ने उक्तिलाई लागु गर्दै मनाउनु पर्दछ । एक अर्काको साथ र सहयोगमा चाडपर्व मिलिजुली मनाउनु नै सम्पूर्ण शास्त्र धर्म चाड पर्वको सार हो ।
यस महत्त्वपूर्ण पर्व दीपावलीको सम्पूर्ण महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना साथै माता लक्ष्मीले सबैको कल्याण गर्नुहोस् ।
शुभ दीपावली ।।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।