वास्तविक सुख के हो ?
खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ ।
आफु मिटाइ अरुलाई दिनु जहाँ छ ।।
–लक्ष्मी प्र. देवकोटा
सुख के हो ? दुःख के हो ? सबै भन्दा पहिला यो बुझ्न जरुरी हुन्छ । यस विषयमा सबैको आ–आफ्नो तर्कहरू हुन्छन् तर पनि वास्तविक सुख के हो ? सबैले विश्वास गर्ने तर्क आदिको यहाँ चर्चा गरौँ । केहि उदाहारणका साथमा ।
वास्तवमा सुख भनेको पुण्य हो र दुःख भनेको पाप हो पनि भन्न सकिन्छ । जस्ले जस्तो सुकै समय, अवस्था, परिस्थिती आउँदा पनि सहज र सरल तरिकाले समाधन गर्न सक्छ उसले कहिल्यै दुःख भोक्नु पर्दैन उसलाई सुख मात्र प्राप्त हुन्छ । तर सुख प्राप्त गर्न मुखले भने जस्तो वा अर्काले भोगेको आफुले देखे जस्तो सजिलो भने पक्कै पनि हुँदैन । सुख प्राप्त गर्न त्याग, तपस्या, ठुलो गर्नुपर्छ जस्तो की लोभ, मोह, घमण्ड, दम्भ त्यागेर आत्मा चिन्न सक्नु पर्दछ । आत्मा चिन्नु भनेको परमात्मा चिन्नु झैँ हो । सबै प्राणीहरूलाई आफु समान देख्नु, सबै प्राणीमा प्रेम गर्नु, ‘आत्मनः प्रतिकूलानी परेषां नः समाचरेत्’ अर्थात आफुलाई मन नपर्ने कार्य अरुलाई पनि नगर्नु, अरुलाई दुःख पिडा दिनु पाप संझेरै भएपनि सबैमा आफु समाान व्यवहार गर्नु सुखकै कारण हो । आफुले खाँदा सबै प्राणीले खाउँन् आफुले लगाउँदा सबै प्राणीले लगाउँन् यो भावना हृदयमा उत्पन्न हुनु सुख प्राप्ति को लक्षण हो भनेर शास्त्रहरूमा बताईएको छ ।
यस प्रसङ्गमा पौराणिक एक सत्य कथा को उदाहारण यहाँ प्रस्तुत गर्दछु ।
पहिला कुनै एक समयमा रन्तिदेव नाम गरेका राजा थिए । अरूको दुःख समस्या देख्न नसक्नु यी राजाको विशेषता थियो । राजा भएर पनि उहाँले दीन दुःखी र ब्राह्मणहरूलाई दान गर्दा गर्दै आफ्नो अधिकार भित्रको सबै सम्पत्ति दान गरेरै सके(अधिकार भित्रको भनेको आफुले कमाएर जम्मा गरेको धन मात्र भन्ने हो । राजा हुँदैमा राष्ट्रको सबै सम्पत्ति राजाको व्यक्तिगत हुँदैन यो कुरा पनि बुझ्न जरुरी छ) । आफ्नो भएजति सम्पत्ति दान आदि गरेर सके पछि परिवार सहित रन्तिदेवले भोक–भोकै ४८ दिनको समय विताउँनुभयो । त्यति हुँदा पनि रन्तिदेव विचलित हुनुभएन र उहाँलाई भोक प्यास् आदि ले जीत्न सकेन । त्यो उहाँको एक प्रकारको व्रत भयो जसको परिक्षा को लागी ४९ औँ दिनको दिन भगवानले खानेकुरा(भोजन) पठाउँनु भयो । जव रन्तिदेवले भोजन गर्न थाल्नुभयो तव त्यहाँ एक ब्राह्मण आउँनु भयो रन्तिदेवले केहि भोजन ब्राह्मणलाई खुवाउँनु भयो । त्यस पछि पुनः खान लाग्दा एक अति भोकाएका व्यक्ति आएर भोजन मागे रन्तिदेवले उहाँलाई पनि शेष(बाँकी) भोजन सबै खुवाउँनुभयो । अव उहाँ सँग केवल पानि मात्र बाँकी रह्यो । बाँकी त्यहि पानि पनि पिउँन लाग्दा एउटा चाण्डाल आएर प्यास लाग्यो पानि दिनुहोस् भनेर माग्यो परम करुणका सागर रन्तिदेवले पिउँन तयार भएको पानि पनि दिनुभयो । यसरि आफु भोक भोकै बसेको ४९ दिनमा प्राप्त भएको पदर्थपनि रन्तिदेव स्वयंको परिवार ले ग्रहण नगरेर अन्य सबै को आत्मा सन्तुष्टिका लागी त्याग गर्नुभयो(दिनुभयो) ।
यति गर्दा पनि राजा ले आफुले दुःख पाएँ भन्ने महसुस गर्नुभएन बरु सुखको अनुभुति गर्नुभयो । सुखको अनुभुति मात्र होईन रन्तिदेव राजालाई तत्कालै ब्रह्मा, विष्णु र शिव ले दर्शन दिनुभयो । रन्तिदेवलाई वरदान माग भन्दा पनि रन्तिदेव भन्नुहुन्छः– ‘भगवान यदि वरदान नै दिनुहुन्छ भने संसारका सबै प्राणीको दुःख मलाई दिनुहोस् उनिहरू सबैले सुख मात्र पाउँन् ।’
उहाँको त्यो त्याग तपस्याको वयान जति नै गरेपनि सायद कम नै हुन्छ । हामी सबै ले विचार गरौँ यस्ता महान् व्यक्तिको चर्चा गरेर कसरि सकिन्छ ।
हामीेले रन्तिदेव जस्तो गर्न त सायद नसकौँला तर हरेक पदार्थ धेरै को सट्टा थोरै प्रयोग गरेर भएपनि अरूको लागी पनि सोच्यौँ र त्याग वा दान जे हुन्छ गर्न थाल्यौँ भने सुखको अनुभव पक्कै गर्न पाउँने छौँ एक पटक अवश्य गरेर हेरौँ पनि । यो लेख पढ्दै गर्दा हजुरहरूलाई विश्वास नलाग्न पनि सक्छ माथीका कुरा तर जीवन मा प्रयोग गरेर हेरौँ उत्तर आफैँ ले पाईने छ ।
त्यसैले यदि वास्तविक सुख चाहाने व्यक्ति ले परोपकार को भावनालाई बुझेर आत्मसाथ गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । ‘परोपकाराय पुण्याय पापाय परपीडनम्’ सायद पुराणहरूको सार रहेको यो श्लोक ले पनि यहि कुरा प्रष्ट गर्दछ ।
दान धर्म त्याग गरौँ अति वैज्ञानिकता रहेको हाम्रो संस्कार संस्कृतिको सबै मिलेर संरक्षर गरौँ ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।