हराएका मानिसको क्रियागर्ने सम्बन्धमा
हराएका मनिसको १०० वर्षको उमेर पुगेपछि काजक्रिया गर्नुपर्दछ भनेर भन्ने र गर्नेगरेको पाइन्छ। तर १०० उमेर पुगेपछि क्रिया गर्नुपर्दछ भन्ने कुराको कुनै शास्त्रीय आधार मैले भेटेको छैन।
कसैले शास्त्रीय प्रमाण भेट्नुभएको भए मलाई पनि उपलब्ध गराइदिनुहुन सादर अनुरोध गर्दछु।
मैले भटेको शास्त्रीय प्रमाण यसप्रकार छ–
मानिस हराएपछि कुनै खबर नआएको मितिले उमेरका आधारमा हराएको२० वर्ष पुगेपछि / हराएको १५ वर्ष पुगेपछि अथवा हराएको १२ वर्ष पुगेपछि नै पनि क्रिया गर्नुपर्ने हुन्छ।
शास्त्रीय वचन यसप्रकार छ-
´´प्रोषितस्य तथा कालो गतश्चेद् द्वादशाब्दिकः।
प्राप्ते त्रयोदशे वर्षे प्रेतकार्याणि करयेत्।।
तस्य पूर्ववयस्कस्य विंशत्यब्दोर्ध्वतः क्रियाः।
ऊर्ध्वं पञ्चदशाब्दात् तु मध्यमे वयसि स्मृता।
द्वादशाद् वत्सराद् ऊर्ध्वम् उत्तरे वयसि स्मृता।।“
धर्मसि• सुधा-९०५
त्यति अवधि पुगेपछि पुत्तलादाह गरेर काजक्रिया गर्नुपर्दछ।
मानिसको परमायु १०० वर्ष मानेर परमायुलाई ३ भाग लगाएर ३४ वर्षभित्रको मानिस हराएमा हराएको २० वर्ष पछि पुत्तलादाहगरी क्रिया गर्नुपर्दछ। ३४ देखि ६७ वर्षभित्रको मानिस हराएमा हराएको १५ वर्षपछि पुत्तलादाहगरी क्रिया गर्नुपर्दछ र ६७ वर्ष माथिको मानिस हराएमा हराएको १२ वर्षपछि पुत्तलादाहगरी क्रिया गर्नुपर्दछ।
क्रिया गरिसकेपछि फेरि हराएको मानिस आएमा प्रायश्चित्त गरेर पुनः जातकर्मादि सबै संस्कार गर्नुपर्दछ।
वचन यसप्रकार छ।-
´´अमृतं मृतमाकर्ण्य कृतं यस्यौर्ध्वदेहिकम्।
प्रायश्चित्तमसौ स्मार्तं कृत्वाग्नीन् आदधीत च।।“
´´जीवन् यदि समागच्छेद् घृतकुम्भे निमज्य तम्।
उद्धृत्य स्नापयित्वाSस्य जातकर्मादि कारयेत्।।
द्वादशाहं व्रतचर्यां त्रिरात्रमथवाSस्य तु।
स्नात्वोद्वहेत तां भार्याम् अन्यां वा तदभावतः।
अग्नीन् आधाय विधिवत् व्रात्यस्तोमेन वा यजेत्।।
अथेन्द्राग्नेन पशुना गिरिं गत्वा च तत्र तु ।
इष्टिमायुष्मतीं कुर्याद् ईप्सितांश्च क्रतूंस्ततः।।“
इति वृद्धमनु:।।धर्मसि•सुधा-९०८
हराएका मानिसको काजक्रिया गरिसकेपछि मानिस आएमा घिउमा डुबाएर वा घिउहालेका भाँडामा राखेर निकालेर १२ दिनसम्म उपवासादि व्रत गराई व्रात्यस्तोम यज्ञ गरेर उसका जातकर्म , नामकर्म, चूडा , व्रतबन्ध ,विवाहादि सबै संस्कारहरूलाई पुनः संस्कार गरेर शुद्धीकरण गर्नुपर्दछ।
ॐ हरये नमः।

पूर्व विभागाध्यक्ष, इतिहास पुराण विभाग,
नेपाल संस्कृत विश्वविद्यालय

