अतृप्ति
———-
अनकन्टार जङ्गलभित्र हराएको यात्री हुँ ।
थाहा छैन कस्तो कालखण्डमा गएर रोकिन्छ यात्रा
जिन्दगीलाई मानव बनाउन
ज्ञानको खोजिमा दौडिएथेँ समय बोकेर
दौडदा दौडदै समयको रफ्तारमा
जिन्दगीले बिर्सिएछ बाँच्नलाई
मर्ने जमर्को पनि विफल भएपछि
दोसाँधमा छ जिन्दगी
महाभारतको भरत पात्रजस्तो
हजारौँ नाम बिनाका पात्रहरू
सडक किनारामा कविता गाइरहेछन्
गीत गाइरहेछन् देशबारे
उनिहरू पनि मजस्तै मानव बन्न दौडिएथे कुनैबेला
एक जमाना सिङगै यात्रा गरिसक्दा पनि
बुद्व हुन नसकेको ,
ध्रुव हुन नसकेको
जिजस हुन नसकेको
अल्लाह हुन नसकेको
हजारौँ जिन्दगीहरू छन्
उनिहरूले मानव हुन नसकेर
विसर्जन गरेकाछन् यात्रालाई आर्यघाटमा
म अझ हजार युग बाँच्न चाहन्छु,
त्यसैले आगोमा पोल्दैछु पैताला
दिलमा उमार्दै छु पत्थर
मस्तिष्कमा रोप्दैछु शब्द
गर्दैछु यात्रा हावालाई मुठ्ठिमा बोकेर
थाहा छैन यो कर्म
आमाले जस्तो प्रेम गर्छ, गर्दैन
पत्नीको जस्तो समर्पण हुन्छ, हुँदैन
तर पनि कर्मकै प्राप्तिको लागि
उमार्दै छु बैरभाव आफैँभित्र
लत्याउँदै छु माताको प्रेम
पत्नीको करुणा
किनकी मान्नु छ अकाट्य एउटा परम्परा
जलाउँनु छ जन्मदाता
र छोड्नु छ एक महान सहयात्रीलाई दोबाटोमा
जो सहयात्रा गर्न संसार छोडेर आएकी हुन्छे ।
केही छैन पूर्ण अपूर्ण
सत्य, असत्य
लाग्छ, हुँदै नभएको कुरा पनि हुन्छजस्तो
भइरहेको कुरा पनि हुँदैनजस्तो
जान्नु र नजान्नुबीचमा अल्झनुरहेछ अज्ञानता भनेको
सुटुक्क आउँछ र झस्काउँछ अनि हाँस्दै जान्छ प्रेम
यसको बिशेषता भनौँ या गुण
मान्छेलाई खूब झुक्याउँछ, अलमल्याउँछ
म पनि यसकै कारण अलमल्लिएको हुँ यो जङ्गलमा
थाहा छैन अब बाघ भएर निस्कन्छु
या
मृग भएर आहारा बन्छु कसैको ।।
**-***-*
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।