हरेक वारहरू क्रमै सँग किन आउँछन् ? आइत सोम मङ्गल…? वैज्ञानिकता प्रमाण सहित ।
हाम्रो व्यवहारमा प्रचलित दिनलाई जनाउने ‘वार’ शब्द निकै सामान्य र लोकप्रिय भए पनि यसको नामकरण र क्रम कसरी भयो भन्ने विषयमा भने धेरै मानिसमा अनभिज्ञता रहेको पाइन्छ । ‘वार’ शब्दको स्पष्ट प्रयोग वेदमा पाइन्न । ऋग्वेदमा ‘वासर’शब्दको प्रयोग ‘दिवस’शब्दको समानार्थी पदका रूपमा भएको पाइन्छ । तर नेपालीमा प्रचलित ‘वार’ शब्दको उल्लेख भने पाइन्न । वेदपछिको मानिएको महाभारत आदिपर्वको १६०औँ अध्यायमा एउटा प्रसङ्ग आउँछ । द्रौपदीले स्वयंवर गर्नु पूर्व पाण्डवहरू केही समयका लागि एकचक्रा नामक नगरीमा एक ब्राह्मण कहाँ बसेका थिए । सोही नगरमा एउटा राक्षस पनि बस्थ्यो । त्यसलाई प्रतिदिन एक मनुष्य भोजनस्वरूप दिनुपर्थ्यो । एकदिन ती ब्राह्मण कहाँ पनि त्यसको पालो आयो । यसै सन्दर्भमा लेखिएको छ –
‘एकैकश्चापि पुरुषस्तत्प्रयच्छति भोजनम् ।
स वारो वहुभिर्वर्षैर्भवत्युसुकरो नरैः।।’
यसरी सातै वारको नाम पूर्णरूपमा नपाइए तापनि नेपालीमा प्रचलित ‘वार’शब्दको प्राचीन प्रयोग महाभारतमा देखापर्न जान्छ ।
याज्ञवल्क्यस्मृतिको एक प्रसङ्गमा ग्रहयज्ञको वर्णन पाइन्छ । त्यहाँ ग्रहको नाम यसरी उल्लेख गरिएको छ –
“सूर्यः सोमो महीपुत्रः सोमपुत्रो बृहस्पतिः ।
शुक्रः शनैश्चरो राहुः केतुश्चैते ग्रहाः स्मृताः ।।”
यो बाहेक यस ग्रन्थमा सातवार तथा तिनका सूर्यादि अधिपतिहरूको उल्लेख अन्यत्र नपाइए तापनि यस श्लोकमा भने ग्रहको नाम वार क्रमानुसार नै अर्थात् सूर्य–चन्द्र–मङ्गल–बुध–बृहस्पति–शुक्र–शनि क्रमशः भएको पाइन्छ । अथर्वज्योतिषमा पनि सात ग्रहको केवल निर्देश पाइन्छ तर वारको उल्लेख पाइन्न । यसरी हेर्दा महाभारत नै ‘वार’ शब्दको प्रयोग भएको आदिमग्रन्थ हो भन्नुमा अत्युक्ति नहोला ।
पूर्वीय र पाश्चात्य जगत्मा सृष्टिसम्बन्धी मान्यता फरक–फरक रहेको छ । यति हुँदाहुँदै पनि कुनै प्रसङ्गमा दुबैले सूर्यलाई सुष्टिको कारक मानेका छन् । प्राचीन कालमा सूर्यको एउटा टुक्रा खसेपछि यो संसार सृष्टि भयो भन्ने मान्यता पाश्चात्यहरूको रहेको छ भने ‘सूर्य आत्मा जगतस्तस्थुषश्च’भन्ने वेदवाक्यानुसार सूर्य जगत्–को आत्मा हो र यसैबाट जगत् सृष्टि भएको भन्ने पूर्वीय मान्यता रहेको पाइन्छ । सृष्टि हुनुमा सूर्य नै प्रमुख मानिएकोले सौर्यमण्डलमा पनि सूर्यलाई प्रमुख मानिन्छ । सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू आ–आफ्नै कक्षमा आ–आफ्नै गतिमा निरन्तर पृथ्वीको वरिपरि घुम्ने गर्दछन् । यसरी घुम्ने क्रममा पृथ्वीबाट क्रमशः चन्द्रमा–बुध–शुक्र–सूर्य–मङ्गल–बृहस्पति–शनि तथा नक्षत्रकक्षहरू ऊर्ध्वोर्ध्वरूपमा रहन्छन् । यसै कुरालाई ज्योतिर्विद् भास्कराचार्यले सिद्धान्त शिरोमणिमा यसरी लेखेका छन् –
“भूमेः पिण्डःशशाङ्कज्ञकविरविकुजेज्यार्कीनक्षत्रकक्षाः ।”
यहाँ चित्रमा देखाइए अनुसार पनि पृथ्वीबाट सबभन्दा टाढा शनि त्यसपछि क्रमशः बृहस्पति, मङ्गल, सूर्य, शुक्र, बुध पर्दछन् भने चन्द्रमा सबभन्दा नजिक पर्दछ ।
सामान्यतः एक दिन भन्नाले २४ घण्टा अर्थात् एक अहोरात्र भन्ने बुझिन्छ । ज्योतिषीय गणित अनुसार एक अहोरात्रमा २४ होरा हुन्छन् । अतः होरा वा घण्टा समानार्थी शब्द हुन् भन्ने बुझिन्छ । चित्रमा देखाइएका सातवटा ग्रहहरू एक–एक होराका दरले प्रतिदिन क्रमशः होरेश हुन जान्छन् । होरेश भनेका होराका स्वामी हुन् । यसरी प्रतिदिन सबै ग्रहले ३।३ चक्र पूरा गर्दा पनि ३ होरा अझै बाँकी रहने र त्यसपछि दोस्रो दिन प्रारम्भ हुने हुँदा कक्षा क्रमानुसारको चौथो ग्रह दोस्रो दिनको प्रथम होराको होरेश (स्वामी) हुनजान्छ । यसैगरी सूर्योदय कालमा जुन ग्रह होरेश हुन्छ त्यही ग्रह वारेश पनि हुन्छ । वारेश भनेको वारको अधिपति हो । यस अनुसार सृष्टि आरम्भ नै चैत्रशुक्ल पक्षको प्रतिपदा तिथि, आइतवारका दिन सूर्योदय कालमा लङ्कानगरमा भयो भन्ने सिद्धान्तशिरोमणिको कथनबाट सृष्टिको पहिलो दिन रविवार नै भएको पुष्टि हुनजान्छ । त्यसो त पाश्चात्यहरूले पनि संसार सृष्टि हुनुमा सूर्य नै प्रमुख मानी त्यसको वार ‘Sunday’ लाई नै सातवारहरूमा पहिलो मानेका छन् । वारेश जुन हो वारको नामकरण त्यसकै नामबाट गरिने भएकाले सप्ताहको वारक्रम आइतवारबाट सुरु भई सोम मङ्गल हुँदै शनिवारसम्म हुनजान्छ । यसअनुसार पहिलो होरेश र वारेश सूर्य हुनगएको हो । त्यसपछिको २४ घण्टाको समय समाप्तिसँगै सुरु हुने २५औँ घण्टाको प्रारम्भबाट दोस्रो दिनको आरम्भ हुन्छ । अनि सूर्यबाट कक्षाक्रमले गन्दै जाँदा २५औँ ग्रह चन्द्र दोस्रो दिनको सूर्योदयकालीन होरेश हुन्छ । होरेश नै वारेश हुने क्रम अनुसार आइतवार पछिको दोस्रोवारका रूपमा चन्द्रवार अर्थात् सोमवार हुन गएको हो । यसैगरी गणना गर्दा तेस्रो दिनको सूर्योदयकालीन होरेश मङ्गल, चौथो दिनको बुध, पाँचौँ दिनको बृहस्पति, छैटौँ दिनको शुक्र र सातौँ दिनको सूर्योदयकालीन होरेश शनि पर्न आउँछ । वारका नामकरण र क्रमको आधार ग्रहकक्षक्रमका आधारमा हुने कुरालाई सूर्यसिद्धान्तको भूगोलाध्यायमा यसरी लेखिएको छ –
“होरेशाः सूर्यतनयादधोऽधः क्रमशस्तथा ।
मन्दादधः क्रमेण स्युश्चतुर्था दिवसाधिपाः ।।”
अर्थात् शनिकक्षदेखि तल हरेक चौथो स्थानमा रहने सबै ग्रहहरू क्रमशः वारका होरेश हुन्छन् र तिनकै आधारमा वारको क्रम निर्धारण पनि हुन्छजान्छ ।
यसरी व्यवहारमा प्रचलित सातवारहरू ज्योतिषको यही सिद्धान्तमा आधारित रहेका देखिन्छन् । पाश्चात्य जगत्–मा रहेका वारहरू पूर्वीय सिद्धान्त अनुसार स्थापित वारक्रमकै अङ्ग्रेजी नामकरणका रूपान्तरित नाम मात्र हुन् । यसरी सातवटा वारका नामकरण र क्रममा भिन्नता नआउने कुरा समेत पूर्वीय ज्योतिषशास्त्रमा स्पष्ट उल्लेख गरिएको छ ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।