5.1 C
Kathmandu
Sunday, January 12, 2025
tagDiv Newspaper Theme
HomeKnowledgeज्योतिषशास्त्रका प्रणेता र शाखा विभाजन ।

ज्योतिषशास्त्रका प्रणेता र शाखा विभाजन ।

भेटियो वैज्ञानिकहरूलाई पनि अचम्म पार्ने ग्रन्थ । भाग २ ।

१.विषयप्रवेश

संस्कृत वाङ्मयमा रहेका विविध विधाहरूमध्ये ज्योतिष पनि एक हो । वेदका मुख्य ६ अङ्गहरूमध्ये एक मानिने ज्योतिषलाई  सम्पूर्णशास्त्र तथा विश्व ब्रह्माण्डकै आँखा मानिन्छ । सिद्धान्त, संहिता र होरा गरी ३ भागमा विभाजन गरिएको ज्योतिषशास्त्रको सिद्धान्त शाखामा पनि सिद्धान्त, तन्त्र र करणसहित ३ प्रशाखाहरू छन् । आकाशमा रहेका सूर्य र चन्द्रमालाई सदैव आफ्नो साक्षी मान्ने ज्योतिषशास्त्रले सूर्य, ब्रह्मा, व्यास लगायतका १८ जना आचार्यहरूलाई प्रवर्तक मानेको छ । प्रस्तुत लेखमा ज्योतिषशास्त्रका प्रवर्तकहरूका साथै  शाखा विभाजन सम्बन्धी विषयवस्तुमाथि चर्चा गर्न खोजिएको छ ।

. ज्योतिषशास्त्रका प्रवर्तकहरू

ज्योतिषशास्त्रका उत्पत्तिका सन्दर्भमा जगत् सृष्टिकर्ता ब्रह्माले आफ्ना चार मुखबाट लोक कल्याणका लागि यज्ञ गराउने वेदोपदेश गरी सफल यज्ञ सम्पादनका लागि आवश्यक मुहूर्त निर्धारणका लागि ज्योतिषशास्त्रको रचना गरेर आफ्ना मानसपुत्र नारदलाई सुनाए पछि नारदबाटै संसारभर ज्योतिषशास्त्रको प्रचार भयो भन्ने मत एकातिर छ भने अर्कातिर सूर्यले आफ्ना प्रियभक्त मयलाई सर्वप्रथम ज्योतिषशास्त्र सिकाए पछि मयबाट नै संसारभर ज्योतिषशास्त्रको प्रचारप्रसार भएको चर्चा पनि शास्त्रहरूमा  पाइन्छन् । (दाहाल: इ.सं. २०१९ :९) यसै सन्दर्भमा कश्यप संहिताले १८ जना आचार्यहरूलाई ज्योतिषशास्त्रका प्रवर्तक मानेको छ –
सूर्पः पितामहो व्यासो वसिष्ठोऽत्रिः पराशरः ।
कश्यपो नारदो गर्गो मरीचिर्मनुरङ्गिराः ॥
रोमशः पौलिशश्चैव च्यवनो यवनो भृगुः ।
शौनकोऽष्टादश चैते ज्योतिः शास्त्रप्रवर्तकाः ॥
ज्योतिषशास्त्रका प्रवर्तक को हुन् भन्ने विषयमा आचार्य पराशर र देवर्षि नारदकाबीच पनि मतैक्य पाइन्न । यसै सम्बन्धमा वराहमिहिरले ‘ब्रह्माले नारदलाई,  चन्द्रमाले शौनकलाई, नारायणले वसिष्ठलाई, वसिष्ठले माण्डव्यलाई र वामदेवलाई, व्यासले आफ्ना शिष्यवृन्दलाई, सूर्यले मयलाई,  पुलस्त्य,  गर्गाचार्य, अत्रि र रोमकले आआफ्ना शिष्यहरूलाई र पराशरले मैत्रेयलाई ज्योतिषशास्त्र सम्बन्धी ज्ञान गराएपछि विश्वभर ज्योतिषशास्त्र फैलिएको हो भन्दै ज्योतिषशास्त्रको रचना सामान्य व्यक्तिबाट नभई ऋषिपरम्पराबाट भएको’ उल्लेख बृहत्संहितामा गरेको पाइन्छ–
मुनिविरचितमिदमिति यच्चिरन्तनं साधु न मनुजग्रथितम् ।
तुल्येऽर्थेऽक्षरभेदादमन्त्रके का विशेषोक्तिः ॥ (बृहत्संहिता, उपनयनाध्याय-३)
आब्रह्मादिविनः सृतमालोक्य ग्रन्थविस्तरं क्रमशः ।
क्रियमाणकमेवैतत् समासतोऽतो ममोत्साहः ॥ (बृहत्संहिता, उपनयनाध्याय-५)
टीकाकार भट्टोत्पलको विशेष टीका टिप्पणी रहेको बृहत्संहितामा ‘मुनिभिः’ शब्दलाई ‘ब्रह्मादिभिः’ भन्ने अर्थ गरिएको छ । त्यस्तै ज्योतिषशास्त्र प्रवर्तकका सम्बन्धमा गर्गाचार्यको वचन भने यस्तो पाइन्छ –
स्वयं स्वयम्भुवा सृष्टं चतुर्भूतं द्विजन्मनाम् ।
वेदाङ्गं ज्योतिषं ब्रह्मपरं यज्ञहितावहम् ॥
मया स्वयम्भुवः प्राप्तं क्रियाकालप्रसाधनम् ॥
प्रस्तुत सन्दर्भहरूलाई मनन गर्ने हो भने ब्रह्माजीद्वारा रचित ज्योतिषशास्त्रलाई ब्रह्मा स्वयंले नारद-गर्ग प्रभृति ॠषिहरूलाई पढाएपछि उनीहरूकै माध्यमले संसारमा फैलिएको कुरा स्पष्ट हुन आउँछ । यसैलाई मनन गर्दै  त्रिस्कन्धज्ञ वराहमिहिरले सर्वप्रथम यज्ञप्रवर्तनका लागि ब्रह्माजीद्वारा रचना गरी शिष्य परम्पराबाट विद्वज्जनसम्म आइपुगेको ज्योतिषशास्त्रलाई आर्यभटले प्रकाशित गरेपछि आफूले विवेचना गरेको तथ्यलाई यसरी स्पष्ट गरेका छन्–
प्रथममुनिकथितमवितथमवलोक्य ग्रन्थविस्तरस्यार्थम् ।
नातिलघुविपुलरचनाभिरुद्यतः स्पष्टमभिधातुम् ॥
(बृहत्संहिता, उपनयनाध्याय-२)

. ज्योतिषशास्त्रका शाखाहरू

सम्पूर्ण शास्त्रहरूको  आँखा समान मानिएको ज्योतिषलाई सिद्धान्त,  संहिता र होरा गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ । ‘सिद्धान्त–संहिता–होरा रूपस्कन्ध त्रयात्मकम्’ भन्ने प्रमाणले पनि यही प्रमाणित गरेको छ ।

३.१ सिद्धान्त

ज्योतिषको सिद्धान्त शाखामा गणित पक्षको बाहुल्यता पाइन्छ । समय गणनाको सूक्ष्मतम एकाइ त्रुट्यादि देखि प्रलयान्तसम्मको कालगणना,   सौरचान्द्रादि मासभेद,  ग्रहगतिको नियम,  व्यक्त र अव्यक्त गणितको विवेचन,  देश-दिशा र समयको ज्ञान,  भूगोल,  खगोल,  ग्रहस्थिति,  वेदयन्त्रादिको विस्तृत विवेचना आदि ज्योतिषको सिद्घान्तशाखामा पाइन्छ । यसको स्पष्ट प्रमाण भास्कराचार्यले सिद्धान्तशिरोमणिमा यसरी दिएका छन्  ।
त्रुट्यादिप्रलयान्तकालकलना मानप्रभेदः क्रमा-
चारश्च द्युसदां द्विधा च गणितं प्रश्नास्तथा सोत्तराः ।
भूधिष्ण्यग्रहसंस्थितेश्च कथनं यन्त्रादि यत्रोच्यते
सिद्धान्तः स उदाहृतोऽत्र गणितस्कन्धप्रबन्धे बुधैः ॥
(सिद्धान्तशिरोमणि,  कालमानाध्याय ६)
सिद्धान्त शाखाका पनि सिद्धान्त,  तन्त्र र करण गरी तीन उपभेदहरू छन् ।

३.१.१. सिद्धान्त

‘सृष्ट्यादेर्यद्ग्रहज्ञानं सिद्धान्तः स उदाहृतः’ भन्ने भनाइका आधारमा कल्पादिदेखि कल्पान्तसम्मको ग्रहगणित हुने शाखालाई सिद्धान्त भनिन्छ । सूर्यसिद्धान्त,  ब्राह्मस्फुटसिद्धान्त,  सिद्धान्तशिरोमणि, सिद्धान्तसार्वभौम,  सिद्धान्ततत्त्वविवेक लगायतका सिद्धान्त ग्रन्थहरू यस अन्तर्गतका उदाहरण मानिन्छन् ।

३.१.२. तन्त्र–

युगादि देखि ग्रहगणना गरिने सिद्धान्तलाई तन्त्र भनिन्छ । तन्त्रग्रन्थमा आर्यभटद्वारा प्रतिपादित ‘आर्यभटीयम्’ सुप्रसिद्ध मानिन्छ । आधुनिक विज्ञानको वरदान मानिने सुसाङ्ख्य (कम्प्युटर) यन्त्रका लागि उपयोगी हुने सङ्ख्या लेखनको नवीन पद्धति अपनाइएको ‘आर्यभटीयम्’ ज्योतिष वाङ्मयकै अमूल्य ग्रन्थ मानिन्छ । यसमा सङ्ख्या लेखनका लागि गरिएको नवीनतम सङ्केत कल्पना विचित्रको पाइन्छ । सूर्यसिद्धान्तमा सूर्य भगणको सङ्ख्यात्मक मान बताउन ग्रन्थकारले यस्तो श्लोक बनाएका छन् ।
युगे सूर्यज्ञशुक्राणां खचतुष्करदार्णवाः ।
कुजार्किगुरूशीघ्राणां भगणाः पूर्वयायिनाम् ॥
(सूर्यसिद्धान्तः मध्यमाधिकार- २९)
सूर्यसिद्धान्तमा सूर्यभगण ४३२०००० लाई बताउन  ‘खचतुष्करदार्णवाः’ (खचतुष्कः=००००,  रदाः= ३२,  अर्णवाः = ४,  ‘अङ्कानां वामतो गतिः’ अर्थात् अङ्कलेख्दा दायाँबाट बायाँतर्फ लेख्दै आउने सिद्धान्त अनुसार पहिला ४ त्यसपछि ३२ अनि ४ वटा शून्य लेख्नुपर्ने  नियमानुसार ४३२००००) भन्ने पदावली खर्चिएकोमा आर्यभटले केवल ‘ख्युघृ’ पद प्रयोग गरेका छन् । जसमा खु=२०००० + यु=३००००० + घृ = ४०००००० मान रहने सिद्धान्त बनाई समष्टिमा ४३२०००० हुने सूत्र प्रतिपादन गरेका छन् । उनले अङ्क लेखनको प्रमुख सिद्धान्तलाई  यसरी श्लोकबद्ध गरेका छन् ।
वर्गाक्षराणि वर्गेऽवर्गेऽवर्गाक्षराणि कात् ङमौ य ।
खद्विनवके स्वरा नव वर्गेऽवर्गे नवान्त्यवर्गे वा ॥  (आर्यभटीयम् -२)
यसरी संख्या ज्ञानको लागि उपयोगी श्लोकात्मक सूत्र प्रतिपादन गरी सूर्यादि ग्रहहरूको मन्दोच्चपात भगण तथा शीघ्रमन्दपरिधिमान बताएकाले आर्यभटीयम् महत्त्वपूर्ण ज्योतिषग्रन्थ मानिन्छ । यसका अतिरिक्त उनले वर्गबाट वर्गमूल,  घनबाट घनमूल र व्यासबाट परिधि ल्याउने सूक्ष्म रीति समेत प्रतिपादन गरी पृथ्वीको अक्षभ्रमण सम्बन्धी विलक्षण कल्पना समेत प्रस्तुत श्लोकमा गरेका छन् ।
अनुलोमगतिर्नौस्थः पश्यत्यचलं विलोमगं यद्वत् ।
अचलानि भानि तद्वत् समपश्चिमगानि लङ्कायाम् ॥
(आर्यभटीयम्, गोलपाद-९)

३.१.३.  करण–

शकाद् यत्र ग्रहज्ञानं करणं तत् प्रकीर्तितम् ’ भन्ने वचनका आधारमा अभीष्ट शकसंवत् बाट ग्रहज्ञान गर्ने ग्रन्थ नै करणग्रन्थ हुन् । यस अन्तर्गत गणेशदैवज्ञको ग्रहलाघवम्,  वेङ्कटेश केतकरको केतकीग्रहगणितम्,  गोविन्दगणकको सर्वानन्दकरण,  शतानन्दको भास्वती,  भास्कराचार्यको करणकुतुहलम् लगायतका करणग्रन्थहरू सुप्रसिद्ध छन् । करण ग्रन्थहरूमध्ये ग्रहलाघवम् को प्रसिद्धि अधिकमात्रामा भएपनि ग्रहसाधनमा केही स्थूलता आउने हुँदा वर्तमान समयमा केतकी ग्रहगणितम्–को ग्रहगणना उपयुक्त मानिन थालिएको छ । यसरी हेर्दा ज्योतिषको सिद्धान्तस्कन्धमा पनि सिद्धान्त,  तन्त्र र करण गरी तीन प्रकारका पद्घतिहरू प्रचलित देखिन्छन् ।

३.२. संहिता

ज्योतिषशास्त्रका सम्पूर्ण शाखा-प्रशाखाहरूले व्यक्ति वा वस्तु विशेषको समष्टिगत फलादेश जुन शास्त्रका आधारमा गर्दछन् त्यसलाई संहिताशास्त्र भनिन्छ । संहिताशास्त्रलाई वराहमिहिरले यसरी चिनाएका छन् –
ज्योतिःशास्त्रमनेकभेदविषयं स्कन्धत्रयाधिष्ठितं
तत्कार्त्स्योपनयस्य नाम मुनिभिः सङ्कीर्त्यते संहिता ।
स्कन्धेऽस्मिन् गणितेन या ग्रहगतिस्तन्त्राभिधानस्त्वसौ
होराऽन्योऽङ्गविनिश्चयश्च कथितः स्कन्धस्तृतीयोऽपरः ॥
(बृहत्संहिता,  उपनयनाध्याय – श्लोक ९)
पृथ्वीमा रहेका सम्पूर्ण भौतिक एवं प्राकृतिक वस्तुहरूमा सूर्यादि ग्रह तथा आकाशीय पिण्डहरूको प्रभाव कस्तो रहन्छ भन्ने निर्क्योल गर्ने काम संहिताशास्त्रले गर्दछ ।  ग्रहहरूको गतिफल,  सप्तर्षि ताराहरूको गतिफल,  भूमिशोधन,  दिशानिर्धारण,  वास्तुदोष निवारण,  वास्तुविद्या,  वृष्टिविद्या,  वृक्षायुर्वेद,  शकुनविद्या,  भूकम्पलक्षण,  उल्कापात विमर्श,  ग्रहोदयास्तफल लगायत मानवजीवनमा प्रत्यक्ष सरोकार हुने विषयबारे संहिता शास्त्रमा विशेष अध्ययन गरिन्छ । बृहत्संहिता,  भृगुसंहिता,  नारदसंहिता, गर्गसंहिता,  कश्यपसंहिता लगायतका ग्रन्थहरूलाई यसको उदाहरण रूप मान्न सकिन्छ ।

३.३. होरा

ज्योतिषशास्त्रका तीन शाखाहरूमध्ये होरा दोस्रो शाखा हो । ‘अहोरात्र’ शब्दको सुरुको ‘अ’ वर्ण र अन्त्यको ‘त्र’ वर्ण लोपभई बनेको ‘होरा’ शब्दले राशिको वा लग्नको आधा भाग भन्ने अर्थ दिन्छ । कुनै पनि जातकको जन्मसमयका आधारमा जन्मकुण्डली निर्माण गरी कुण्डलीमा रहेका ग्रहहरूको स्थिति र ग्रहबल एवं दशान्तरदशाका आधारमा जातकको जीवन भोगाइका हरेक पक्षहरूलाई विवेचना गर्ने काम होरा शास्त्रमा गरिन्छ । जसरी बत्तीले अन्धकारमा रहेका वस्तुहरूको यथार्थ स्वरूपलाई देखाउँछ त्यसैगरी होराशास्त्रले मानवजीवनका हरेक रहस्यहरूलाई स्पष्ट देखाउँछ भन्दै त्रिस्कन्धज्ञ वराहमिहिरले होराशास्त्रको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
यदुपचितमन्यजन्मनि शुभाऽशुभं तस्य कर्मणः पक्तिम् ।
व्यञ्जयति शास्त्रमेतत् तमसि द्रव्याणि दीप इव ॥
(लघुजातकम्,  राशिबलाध्याय -३)
मानवजीवनका हरेक पक्षहरूका बारेमा जानकारी दिनका लागि ताजिकशास्त्र,  प्रश्नशास्त्र,  सामुद्रिकशास्त्र,  शकुनशास्त्र, अङ्कविद्या लगायतका ग्रन्थहरू जति उपयोगी छन् त्यो भन्दा बढी उपयोगिता होराशास्त्रको देखिने भएकाले यसको महत्त्व स्वतः सिद्ध हुने देखिन्छ ।

४.  सन्दर्भग्रन्थसूची

आचार्य, भास्कर,                (२०४५), सिद्धान्तशिरोमणि, वाराणसीः चौखम्बा संस्कृत संस्थान ।
आचार्य, भास्कर,                (सन् १९८८), सिद्धान्तशिरोमणेः गोलाध्याय, (केदारदत्त जोशी,व्या.), दिल्लीः मोतीलाल बनारसीदास ।
आर्यभट,                           (सन् २००८), आर्यभटीयम्, (डा. सत्यदेव शर्मा, भाष्यकार), वाराणसीः चौखम्बा सुरभारती प्रकाशन ।
खनाल, श्याम,                    (२०६९), सिद्धान्तज्योतिषे नयराजपन्तस्य योगदानम्, काठमाडौः खिलशर्मराजीवलोचनज्योति-स्मारकप्रतिष्ठान ।
दाहाल, लोकमणि,              (सन् २०१७), भारतीयज्योतिषशास्त्रस्येतिहासः, वाराणसीः चौखम्बा सुरभारती प्रकाशन ।
दीक्षित, शङ्कर बालकृष्ण,      (सन् २००२), भारतीय ज्योतिष, (शिवनाथ झारखण्डी, अनु.), लखनउः उत्तरप्रदेश हिन्दी संस्थान ।
पन्त, नयराज,                     (२०४६), हिन्दू सिद्धान्त ज्योतिष र ग्रीक सिद्धान्त ज्योतिषको तुलना -१, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
लगध,                               (२००५), वेदाङ्गज्योतिष, (आचार्य शिवराज कौण्डिन्न्यायन, व्याख्या.) वाराणसीः चौखम्बा विद्या भवन ।
वराहमिहिर,                        (२०५८), बृहत्संहिता, (आचार्य नागेन्द्र पाण्डेय, संपा.), वाराणसीः सम्पूर्णानन्द विश्वविद्यालय ।
वराहमिहिर,                        (सन् २०१५), लघुजातकम्, (डा.कृष्णकुमार पाण्डेय, सम्पा.), वाराणसीः शिव संस्कृत संस्थान ।
शर्मा, डा.प्रेमकुमार,              (सन् २००५), सिद्धान्तशिरोमणेर्गोलाध्यायस्योपपत्तिः, दिल्लीः नाग पब्लिसर्स ।
शास्त्र, कपिलेश्वर (सम्पा.)     (२०५२), सूर्यसिद्धान्त, वाराणसीः चौखम्बा संस्कृतसंस्थान ।
शास्त्री, गिरिजाशंकर,           (२०६०), वैदिक ज्योतिष, प्रयागः ज्योतिष कर्मकाण्ड एवं अध्यात्म शोध संस्थान ।

Astrologer Kapildev Bhattarai
लेखकः–
कपिलदेव भट्टराई
-ज्योतिषाचार्य– सिद्धान्त एवं फलित)
उपप्राध्यापक
ने.सं.वि.कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपुर (ब.सु.पू.)

सूचना

नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।

RELATED ARTICLES

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments

कारंडे सोमनाथ on Garud Puran Pdf
उपेन्द्र प्रसाद भट्टराई on जनैपूर्णिमाको रहस्य। About Janaipurnima
error: Content is protected !!