एकादशीव्रतका विषयमा
२०८३ /३ /२४
यस वर्षको पात्रामा आषाढकृष्ण एकादशीको व्रत२ दिन लेखिएको छ कुन दिन व्रत लिनुपर्ला भन्ने जिज्ञासा धेरै जना जिज्ञासुहरूले राख्नुभएको हुँदा यस विषयमा केही कुरा प्रस्तुत गर्दछु।
( स्मार्तानाम् एकादशीव्रतम्) स्मार्तहरूको योगिनी एकादशीव्रत आषाढ २६ गते र (वैष्णवानाम् एकादशीव्रतम्) वैष्णवहरूको योगिनी एकादशीव्रत आषाढ २७ गते २ दिन लेखिएको छ।
एकादशी व्रतका विषयमा वैष्णव सम्प्रदाय र स्मार्तसम्प्रदाय गरी २ सम्प्रदाय छन्।
वैष्णवसम्प्रदायमा शुद्धा एकादशीका ९ भेद र विद्धा एकादशीका ९ भेद गरी १८ भेद छन् । त्यसैगरी स्मार्तसम्प्रदायमा पनि शुद्धाका ९ भेद र विद्धाका ९ भेद गरी जम्मा १८ भेद छन्। यसरी स्मार्त र वैष्णव सम्प्रदायका एकादशीका जम्मा ३६ भेद छन्।
दुवै सम्प्रदाय मान्य छन्। सबैले आफ्ना आफ्ना परम्परा अनुसार बाबुबाजेले जुन सम्प्रदायको अनुसरण गर्दै आउनुभएको थियो त्यही सम्प्रदाय अनुसार एकादशीको व्रत लिनुपर्दछ। पात्रामा २ दिन एकादशीको व्रत लेखिएको छ भने हामीले वैष्णव सम्प्रदाय अनुसारको भोलिपल्टको एकादशीको व्रत लिने गरेका छौं।
किन भने हाम्रा बाबुबाजेले भोलिपल्टकैदिन एकादशीको व्रत लिने गर्नुभएको थियो ,त्यसैले हाम्रो वैष्णव परम्परा भयो। हाम्रा बाबुबाजे भन्नुहुन्थ्यो ,लाग्दो तिथि छोड्दो व्रत। २ दिन एकादशी भए हामीले भोलिपल्टको एकादशीका दिन व्रत लिनुपर्दछ। उपर्युक्त ३६ भेदको लेखा जोखा गर्न हमी सक्तैनौ। यसमा मुख्यरूपमा यौटा कुरो विचार गर्नुपर्दछ कि ! वैष्णव सम्प्रदाय अनुसार एकादशीको व्रत लिनेले यी छत्तीस भेद मध्ये मुख्यरूपमा यो यौटा कुरा विरचार गर्नुपर्दछ कि अघिल्लादिन दशमीतिथि टुटेको छ भने अथवा ५६ घडीभन्दा बढि दशमी तिथि भएमा एकादशीकादिन व्रत नलिएर द्वादशीकादिन एकादशीको व्रत लिनुपर्दछ। अरु सबै कुरा विचार गर्न हामी सक्तैनौ। यसवर्ष २०८३ आषाढ २५ गते दशमी तिथि टुटेर नवमीतिथि भित्र ५६।३० घडी दशमी अन्तर्भाव भएर अर्थात् लुकेर रहेको छ। तिथि टुट्नु भनेको तिथि हुँदैनहुने भनेको होइन , तिथि ता हुन्छ तर सूर्योदयकालमा त्यो तिथि नदेखिएको मात्र हो।
दशमी तिथि टुटेको छ साथै नवमीतिथिभित्र ५६।३० घडी दशमीतिथि लुकेर रहेको छ ।त्यसैले हामीले २७ गते द्वादशीकादिन एकादशीको व्रत लिनुपर्दछ।
(एकादशीका ३६ भेदका विषयमा विशेष हेर्न चाहनेले धर्मसि•सुधा ३३,३४,३५ र ३६ मा हेर्न सक्नुहुनेछ।)
ॐ हरये नमः।

पूर्व विभागाध्यक्ष, इतिहास पुराण विभाग,
नेपाल संस्कृत विश्वविद्यालय

