सपनाको बारेमा शास्त्रीयमत कस्तो पाइन्छ ? के मानिसको जीवनमा सपनाको फल हुन्छ त?
वैदिक सनातन परम्परा देखि नै स्वप्नको बारेमा अध्ययन अनुसन्धान हुदै आएको पाइन्छ । समयको गणना गर्ने क्रममा दिनरातको समय गरी २४ घण्टा हुन्छ भने दिवा समयमा देखिएको सपनाको शुभाशुभ केही नहुने कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ । रात्रीको समयलाई (रात्रीमान लाई) चारले भाग गर्दा जति समय प्राप्त हुन्छ त्यसको आधारमा पहिलो प्रहर, दोस्रो, तेस्रो, र चौथो प्रहर भन्ने विभाजन गरिएको हुन्छ । त्यही प्रहरमा देखिएको सपनाको आधारमा मानिसलाई शुभाशुभफल प्राप्त हुने गर्दछ । पहिलो प्रहरमा (बेलुका ९ बजे सम्म) देखिएको शुभाशुभ सपनाको फल एक वर्षमा प्राप्त हुन्छ । त्यस्तै दोस्रो प्रहरको (बेलुका ९- १२ बजे सम्म) सपनाको फल ८ महिना सम्ममा प्राप्त हुनेछ भने तेस्रो प्रहरमा (बेलुका १२-३बजे सम्म)देखिएको सपनाको फल ३ महिनामा प्राप्त हुन्छ । चौथो प्रहरमा (बेलुका ३- विहान ६ बजे सम्म) देखिएको सपनाको १५ दिन भित्रमा फल प्राप्त हुनेछ । सूर्योदयकालमा देखिएको सपनाको फल १० दिनमा प्राप्त हुन्छ । विहानको समयमा सपना देख्यो र जागा भै हाल्यो भने त्यसको फल तत्कालै प्राप्त हुनेछ ।
स्वप्न भनेको विपनाको प्रतिबिम्ब पनि हो । त्यसकारण दिनमा भएका काम कुराको बारेमा पनि सपना देख्न सकिन्छ यदि यस्तो भएको खण्डमा भने सपनाको फल फल रहित हुन्छ । त्यस्तै रोगी, चिन्तित व्यक्तिले देखेको सपनाको फलपनि निष्फल हुन्छ ।
स्वप्नस्तु प्रथमे यामे संवत्सरफलप्रदः ।
द्वितीये चामष्टभिर्मासैस्त्रिभिर्मासैस्तृतीयकैः ।।१
चतुर्थे चाद्र्धमासेन स्वप्न स्वात्मफलप्रदः ।
दशाहे फलदः स्वप्नाऽप्यरुणोदयदर्शने ।।२
प्रातः स्वप्नश्च फलदस्तत्क्षणं यदि बोधितः ।
दिने मनसि तद्वृत्तैस्तत्सर्वं च लभेद् ध्रुवम् ।।३
चिन्ताव्याधिसमायुक्तो नरः स्वप्नं च पश्यति ।
तत् सर्वं निष्फलं तात प्रयात्येव न संसयः ।। ४
(शुक्लयजुर्वेद कण्वशाखा स्वप्नाध्याय १–४)
सपना दुई प्रकारका हुन्छन् ।
स्वप्नो द्विविधः(धर्मसिन्धु तृतीय परिच्छेद पृ.५६९)
इष्टफल र अनिष्टफल दिनेवाला सपना
तत्र सामामान्यत इष्टफलो यथा–
नदीसमुद्रतरणमाकाशगमनं तथा ।
गृहनक्षत्रमार्तण्डचन्द्रमण्डलदर्शनम् ।।
हम्र्यास्यारोहणं चैव प्रासादशिरसोपि वा ।
स्वप्ने च मदिरापानं वसामांसस्य भक्षणम् ।।
कृमिविष्ठानुलेपश्च रुधिरेणाभिषेचनम् ।
भोजनं दधिभक्तस्य श्वेतवस्त्रानुलेपनम् ।।
रत्नान्याभरणादीनि स्वप्ने दृष्टा प्रसिद्ध्यति ।
देवताविप्रपृथ्वीशान्प्रशस्ताभरणांगना ।।
वृषेपर्वतक्षीरिफतिवृक्षाधिरोहणम् ।
दर्पणामिषमाल्याप्तिं शुक्लपुष्पांवराश्रितान् ।।
द्रष्टुः स्वप्नेर्थलाभः स्याद्व्याधिभाक्षश्च जायते ।। (धर्मसिन्धु तृतीय परिच्छेदः पृ.५७०)
राम्रा सपनाहरू क्रमैले यसप्रकार छन् ।
१. सपनामा गाई, हात्ति, घोडा, दरबार, पर्वतहरू चढेको देखेमा भूमिलाभको फल हुन्छ ।
२. सपनामा हतियारले घाउ लाग्यो, शरीरमा किरा पर्यो, झाडा पखाला लाग्यो, रगत देखेमा अचानक धन सम्पत्ति एवं प्रतिष्ठा बढ्ने छ ।
३. सपनामा राजा, सुन, गोरु, वत्ति, अन्न, कन्याकेटी, छाता, रथ देखेमा परिवार बढ्नेछन् भने ठूलो कीर्ति रहने योग बन्दछ ।
४. सपनामा पूर्ण कलश, ब्राह्मण, बगेको आगो, फूलहरू, राम्रो घर, सेतोधान, रङ्गकर्मि, हिरो, हिरोइन, नाटककार, कलाकार, खराब आचरण भएकी नारी देखेमा धन सम्पत्ति बढ्ने सङ्केत हुन्छ ।
५. सपनामा गाइको घ्यू, दूध देखेमा आँटेको कुरा पुरा हुने सङ्केत सपनाको हुन्छ ।
६. यदि सपनामा कमलको पातमा खिर, दही, घ्यू, मह, मीठो अन्न आएको देखियो भने आवश्य पनि त्यो मानिस देशको ठूलो व्यक्ति बन्ने योग आयो भन्दा हुन्छ ।
७. दाह्रा, सिङ् भएका जन्तु वानर यिनीहरूले कष्ट दिएको देखेमा धेरै ठूलो ऐश्वर्य प्राप्ति हुने एवं पदोन्नति पनि हुने सम्भावना रहन्छ ।
८. फलेका रुखहरू, वेलको वृक्ष, फुलेको आँपको रुख देखेमा धन प्राप्ति, ऐश्वर्य प्राप्ति, ज्ञानको वृद्धिका साथै काममा सफलता मिल्नेछ ।
९. सपनामा भरिएको गाग्री कसैले दियो भने सन्तानको वृद्धि एवं पुत्र जन्मने योग बन्दछ त्यसै सन्तानले ऐश्वर्यशाली पनि बनाउदछ ।
१०. समग्रमा भन्नु पर्दा पूर्ण कलश, कन्या, सौभाग्यवती नारी, राजा, फलफूल, दूध, दही, कमल, फलेका वृक्ष, गङ्गादि नदीहरू, समुद्र, तलाउ, सेतो सर्प, ब्राह्मण, मोतिको माला, स्फटिकको माला, मन्त्र, मन्दिर गएको गुरूहरू, साधु, सन्ता, विद्वान, योगी देखेमा आफ्नो मनले सोचेको कुरा छिटै पुरा हुन्छ भने यी सपना राम्रा हुन् ।
सपनाको बारेमा विभिन्न पौराणिक प्रसङ्ग पनि पाइन्छन् कंशले मर्नु भन्दा पहिला धेरै नराम्रा सपना देखेको कुरा श्रीमद्भागवत महापुराणमा पाइन्छ भने भगवान् शिवको परं भक्त वाणासुरकी छोरी उषाले पनि सपनामा श्रीकृष्णकोे नाती अनिरुद्धसँग प्रेम भएको कथा प्रशङ्ग पाइन्छ । सपनाको शुभाशुभ फलको बारेमा मत्स्यपुराण पनि धेरै राम्रो व्याख्या पाइन्छ ।
मानिसहरूलाई स्वभावैले लाग्छ कि कस्तो सपना नराम्रो होला ? यो जिज्ञासा समाधानको लागि पनि केही कोसिस गरेको छु ।
नराम्रा सपनाहरूको बारेमा शास्त्रीय आधारमा
१. सपनामा हासेको, विवाह गरेको, नाचेको देखियो भने सङ्कट एवं विपत्तिको सङ्केत बुझ्नु पर्दछ ।
२. दाँत खुस्केको, दाँत हल्लेको देखेमा शरीरमा पीडा एवं धन नाशको फल मिल्नेछ ।
३. सपनामा तेल लगाएको गदामा चढेको, उँट वा भैँसीमा चढेर दक्षिण तर्फ लागेको देखेमा६ महिनाभित्रमा मृत्युहुन्छ ।
४. सपनामा तेल, नुन देख्दा कष्ट, आपत्ति जस्ता फल मिल्नेछ ।
५. नाङ्गी स्त्री देखेमा शोक प्राप्त हुन्छ ।
६. ब्राह्मण रिसाएको देखेमा ठूलो धन राशिको क्षति हुनेछ ।
७. कालो कपडा लगाएको केटी हाँसेर गएको देखेमा मृत्युको सङ्केत बुझ्नु।
८. सपनामा देवता नाचेमा, देवताले गाएमा, देवता उफ्रेमा देशलाई ठूलो आपत्ति आउनेछ ।
९. सपनामा गाइ बाछा सँगै बाहिर गए भने उसको जागिर खुस्किन्छ ।
१०. नङ्, रौँ, अंगार, मसान घाट देखेमा मृत्यु ।
११. फुटेको भाडा, मरेको मान्छे, भैँसी, बजा बजाएको, नाचको, हाँसेको, घर लडेको, रुख काटेको, पत्थर वृष्टि, रगत वृष्टि, अंगार वृष्टि, कुकुर, काग, भालु जस्ता सपना धेरै नराम्रा हुन् ।
यदि सपना राम्रो वा नराम्रो देखेमा दुबैको लागि केही उपायहरु शास्त्रले बताएको छ ।
क. सपना नराम्रो देखेमा उठेर नबोली स्नान गर्ने ।
ख. सूर्यमा अर्घ्र्य जल चढाउने ।
ग. विष्णु सहस्रनाम पाठ गर्ने ।
घ. गजेन्द्रमोक्ष पाठ गर्ने ।
ङ. सपना ब्राह्मण लाई वा काश्यप गोत्रका मानिसलाई सुनाउदा पनि राम्रो भनिन्छ ।
च. पीपल वा बरको फेदमा बसेर सपना सुनाउदा पनि सपनाको राम्रो फल छिटो मिल्ने एवं नराम्रो सपनाको फल नलाग्ने कुरा धर्मसिन्धु, स्वप्नाध्याय एवं मत्स्यपुराण आदि ग्रन्थमा पनि व्याख्या गरिएको पाइन्छ ।
नित्य स्तुतिहरूको पाठ गर्नाले पनि दुस्वप्ना नाश एवं सुस्वप्नाको शुभफल मिल्नेछ ।
अन्त्यमा सपनाको आफ्नो अनुभव अनुसार पनि मानिसको सत् कर्मको प्रभावबाट कसै कसैलाई सपनामा केही सङ्केत पनि आउने गर्दछ । सज्जन एवं भगवान्को भक्तलाई भगवान्ले राम्रो नराम्रो कुराको सङ्केत सपनाबाट पनि दिनु हुन्छ भने साधना गर्ने व्यक्तिहरूले आफ्नो साधनाको प्रभावबाट पछि कुराको लक्षण वा भविष्यवाणी सपनाको आधारमा पनि गर्ने गर्दछन् ।
चार वेद मध्ये शुक्लयजुर्वेदको कण्वशाखा भन्ने खण्डमा स्वप्नाध्यायको विषय वर्णित छ । त्यस अध्यायमा सपनाका शुभाशुभफलको बारेमा पनि यस प्रकार वर्णन गरिएको पाइन्छ । भगवान् कृष्ण र नन्दको संवादबाट लोककल्याणको लागि वर्णन गरिएको संवाद अत्यन्त व्यवहारोपयोगि पनि देखिन्छ । धेरै भन्दा धेरै मानिसलाई सपनाको शुभाशुभफलको बारेमा जान्ने जिज्ञासा हुन्छ । तर कस्तो सपना राम्रो र कस्तो सपना नराम्रो भन्ने कुराको पत्तो लगाउन भने अत्यन्त मुस्किल पर्ने कुरा आम जनमानसको कुराबाट प्रष्ट हुन्छ । सपना देख्नु सँगै कुन समयमा सपना देखियो त्यो कुरा धेरै महत्त्वपूर्ण हुन्छ । सपना देख्दाको समयको आधारमा राम्रो वा नराम्रो फल प्राप्त हुन्छ । त्यसको लागि यस्तो निर्णय धर्मशास्त्रमा पाइन्छ ।
भिडियोका लागी लिङ्क-
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।