नुन
===
सेतो रङ शान्तिको रङ हो । यो रङले आँखालाई सित्तल बनाउँछ, मनलाई भारी । सेतो रङ भएका वस्तुहरूमध्ये एउटा वस्तु हो नुन ।
नुन थोरै हुँदा रोग लाग्छ । धेरै हुँदा पनि रोग लाग्छ । यो नुनको मुख्य विशेषता हो । यसको सोझो गर्न जाने पनि रोग लाग्छ नजाने पनि । सोझो गर्नुको अर्थ राणाशासनमा गर्ने जनताको व्यवहारजस्तो हैन । यहाँ सोझोको अर्थ गणतन्त्रका प्रजाहरूले भरोसा गर्ने सर्वोच्च अदालतजस्तो मानौँ ।
नुन अत्यावश्यक हुन्छ त्यतिवेला जतिवेला हामीलाई नोकरको खाँचो पर्छ । नोकर तीनिहरूलाई भनौँ जो विलासी जीवनको खोजिमा आफ्नो उचाइ बिर्सिएर अर्कैको धरातलमा जिइरहेका हुन्छन् । यदी हामीले हाम्रोमा काम गर्ने नोकरलाई नुन खुवाउन सकेनौँ भने उसले बाङ्गो गर्न थाल्छ । बाङ्गो नुनको कमीका कारण लाग्ने सरुवा रोग हो । जहाँ धन नम गरेको उच्चकोटीको भाइरसले अप्रत्यक्ष प्रभाव पार्छ र यसको असर चिता नामको उच्चकोटीकै खटियामा मस्त ननिदाउन्जेल रहन्छ ।
नुनलाई अवस्था अनुसार सेवन गर्नुपर्छ । प्रेसर धेरै भए नुन कम खाने र प्रेसर कम भए नुन अलि बढी खाने गर्नुपर्छ । यो विज्ञानको तर्क हो । म सहमत नहुन पनि सक्छु । नुनको प्रभाव डक्टरले बुझेभन्दा अलि फरक हुन्छ । यदि नुन अलि बढी भयो भने अलि बढी चेलीहरू च्यातिन्छन् चेलाहरू सग्ला रहन्छन् । यदि नुन कम भयो भने चेली च्यातिँदा चेलाहरू पनि च्यातिन्छन् उता चेलीको मन भने नुनले पाक्न थाल्छ । हँसियाले काक्रो काटम् या काक्रोले हँसिया काटिने काक्रो हो ।
विज्ञान मान्दा पनि नुन र प्रेसरको सम्बन्ध बुझिएन भने तत्कालीन राजनीतिजस्तो हुन्छ जिन्दगी । नुन र प्रेसरको सम्बन्धलाई बुझेर मात्र हरेक कामको थालनी गर्नुपर्छ । अन्यथा हामीले थप नुनको जोहो गर्नमा थप समय व्यतित गर्न पर्न सक्छ । यसो हुँदा नुनको मूल्य आकासिन सक्छ । हामीलाई थाहा भएकै कुरा हो ।
“दूधको मूल्यवृद्धि हुँदा कालो चियाको मूल्य वृद्धि हुने देशको इमान्दार नागरिक हामी ।”
हामीलाई थाहा छ नुनको मूल्यमा परिवर्तन हुँदा देशमा प्रयोग हुने सम्पूर्ण वस्तुको मूल्य बढ्छ र बढ्नु पनि पर्छ । यदि बढेन भने अर्थविद्हरूको पुर्वअनुमान मिथ्या हुन जान्छ । किनकी नेपालको अर्थतन्त्रको विश्लेषण गर्ने मुख्य तत्व परम्परा हो । देशको अर्थतन्त्र बलियो बनाउन हामीले नुनको पारदर्शी प्रयोग गर्नैपर्छ ।
नुन भनेको भरोसा हो । नुन भनेको धर्म हो । नुन भनेको सहकार्य हो । नुन भनेको व्यस्थापन हो । नुन भनेको साझेदारी हो ।
नुन भरोसा हो :-
नुन भरोसा हो किनकी कसैलाई नुन खुवाएपछि नुनको तागत यति हुन्छ कि उसले नुन खुवाउनेको विरुद्धमा एक बोल्न सक्दैन । कानुन पनि नुनको भाइ साबित हुन्छ ।
नुन धर्म हो :-
किनकी नुनको सेवन गरिसकेपछि जो कोही कृष्ण बन्छन् र अर्जुनको सारथि । अझ भनौँ मृत्युलाई शीरमा स्वीकार्ने कर्ण बन्छन् ।
नुन सहकार्य हो :-
किनकी नुनको सेवन गरेपछि कानुनले नुनको धर्मलाई बुझेको हुन्छ । नुनको सेवन गर्नेहरूले अप्रत्यक्ष रुपमा सहकार्य गरेका हुन्छन् । खोके सँगै खोक्ने, बोके सँगै बोक्ने अनौठो सम्बन्धमा तल्लिन रहन्छन् नुनप्रसादहरू ।
नुन व्यवस्थापन हो :-
नुनले भोक, रोग, र सन्तुष्टिका लागी आवश्यक पर्ने नगद नारायणको व्यवस्थापन गर्छ । यसले अस्पताललाई , भान्सालाई, श्रीमतीलाई, बजारलाई सन्तुष्टि दिने काम गर्छ र विलासी जीवन व्यवस्थापन गर्ने काम गर्दछ ।
नुन साझेदारी हो :-
किनकी नुन भनेको जोतारो हो जसले बाँधिएपछि हल छुट्न मिल्दैन यदी छुटिगयो भने हली अनौ अठ्याएर बसेको हुन्छ, हातमा लौरो लिएर । नपढेको हलिको लौरो खानुभन्दा जुवा नभाँचिएकै बेस् । बाध्यता भनौँ या रहर एक पटक नुनको भागेदार भएपछि जोडी छुट्टिन मुस्किल पर्छ साझेदारीमा ।
भरसक नुन नखादा दीर्घ जीवनको कल्पना गर्न सकिन्छ । दीर्घ भविष्यको कल्पना गर्न सकिन्छ । स्वस्थ भविष्यको कल्पना गर्न सकिन्छ । स्वस्थ भविष्य भनेको त्यो समय अवधी हो जहाँ उच्च रक्तचापजस्ता निम्न कोटिको रोगहरूबाट हामी मुक्त रहन्छौँ ।
****
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
धन्यवाद खाेज सर्चलाई
स्वागतम् ।