नेपालको कानुन
नेताका बलमा अझै मुलुकमा चल्दैछ गुन्डागिरी,
राजाको बदला सयौँ मतलबी राजा बने आखिरी ।
सत्ताको सपना बुनेर मनमा कस्ले बनायो भन,
हत्यारा सजिलै पुरस्कृत हुने नेपालको कानुन ।।१।।
योद्धाकै शवमा छुटे सडकमा निस्सा र साक्षीहरू,
ए साथी कसरी पुगे सदनमा यी राष्ट्रघातीहरू ।
गोर्खाली खुकुरी रुँदैछ पिरले योद्धाहरू हो सुन,
वैरीको डरले बनेन बलियो नेपालको कानुन ।।२।।
तिम्रा तागतले सबै मुलुकमा वार्ता चलाऊ अब,
लौ हाम्रा स्कुलमा बिदेश तिरकै भाषा पढाऊ अब ।
को जाला परदेशमा रहरले ज्यामी कमारो हुन,
खाडी देश लगेर बेच्छ जनता नेपालको कानुन ।।३।।
सामन्ती छलमा परे हरघडी भोका र नाङ्गाहरू,
तिघ्राको बलमा पुगे महलमा गुन्डा लफङ्गा बरु ।
यो आलो मुटुमा झर्यो हिमनदी आँखा भए साउन,
ए आमा निमुखा रुवाउँछ सधैँ नेपालको कानुन ।।४।।
बर्षायाम नदी पठाउँछ सधैँ लाग्दैन खेती पनि,
के बस्छौ मलिलो मधेस सकिदा रोटी र बेटी भनी ।
नेपाली धरती मिचेर रिपुले कस्तो लगायो गुन,
ले साथी खुकुरी म लेख्छु दरिलो नेपालको कानुन ।।५।।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।
गज्जब कविता
स्वागतम् ।