“विज्ञान विध्वंस तर्फ”
=================
विज्ञानविद्का युगको सहारा
बन्दै गए यान्त्रिक वस्तु सारा ।
नयाँ नयाँ यन्त्रहरू सजाए
समग्र धर्ती परिपूर्ण पाए।।१।।
नयाँ नयाँ खोज अनेक गर्दै
यो सृष्टिको शान समस्त भर्दै ।
विकासका कार्य गरेर आज
सम्पन्न बन्दैछ अझै समाज।।२।।
विज्ञानकै देख्दछु नित्य चर्चा
देखिन्छ चारैतिर एक पर्चा ।
यो सृष्टिलाई सजिलो बनाए
सर्वत्र चारैतिर यन्त्र छाए।।३।।
परन्तु चारैतिर चल्छ गोली
बन्दै गयो जीवन यो पहेली ।
विध्वंसको कारण एक जस्तो
बनाउँदैछन् अब मृत्यु सस्तो ।४।।
यस्तो महान् जीवन कत्ति सस्तो
संसार नै हुन्छ कि भस्म जस्तो ।
नयाँ नयाँ खोज गरेर तैँले
पार्छस् कि विध्वस्त जगत् क्रमैले ।।५।।
रुन्छे छ हाँसो मनभित्र धेर
गए सबै ती सपना बगेर ।
संसार यो सुन्दर देख्न चाहे
विज्ञान यस्तो कसरी सिकाए ।।६।।
छन्द =उपजाति
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहनुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ । धेरै धेरै धन्यवाद ।