विश्वघस्रपक्ष सम्पूर्ण जानकारी शास्त्रीय प्रमाण सहित
———————————————————————
१. तिथिक्षय र विश्वघस्रपक्ष
सौरमान अनुसारको मिति गणनामा सदैव एकरूपता हुने तर चान्द्रमान अनुसारको तिथि गणनामा सदैव एकरूपता नहुने भएकाले सर्वसाधारणका लागि चान्द्रमान पद्धति भन्दा सौरमान पद्धति अझ सहज र सरल मानिन्छ । तिथिअनुसार गणना गरिने चान्द्रमास पनि अमान्त र पूर्णिमान्त गरी दुई प्रकारले लिने गरेको पाइन्छ । चान्द्रमानअनुसार एक औंसीदेखि अर्को औंसीसम्मको अवधिलाई अमान्त चान्द्रमास भनिन्छ भने एक पूर्णिमादेखि अर्को पूर्णिमासम्मको अवधिलाई पूर्णिमान्त चान्द्रमास भनिन्छ । चान्द्रमानको घटबढका कारण तिथिमानमा पनि क्षयवृद्धि हुने गर्दछन् । सूर्योदयकालमा उदय हुने तिथिलाई शुद्ध तिथि मानिन्छ । कहिले काहीँ सूर्योदयकालमा दुई दिनसम्म लगातार एउटै तिथिको उदय हुन्छ भने कहिले सूर्योदयकालमा तिथिको उदय हुँदा एउटा तिथिको लोप हुने गर्दछ । यसरी लोप भएको तिथिलाई क्षयतिथि भनिन्छ । क्षयतिथिलाई अशुद्ध मानिन्छ । तिथिहरू क्षय अर्थात् लोप हुने क्रममा एक पक्षको अवधिमा दुईपटकसम्म तिथिलोप हुन सक्दछ तर दुईवटा तिथिहरू लोप हुँदा लगातार भने हुँदैन । एकपक्ष अवधिमा दुईपटकसम्म तिथि लोप हुँदा १३ वटा तिथिहरूबाट नै एक पक्ष पूरा हुने गर्दछ । यसरी १३ वटा तिथिहरूबाट पूर्ण भएको पक्षलाई ‘विश्वघस्रपक्ष’ भनी ज्योतिषशास्त्रमा बताइएको छ ।
२. कालगणनाका प्रमुख पद्धतिहरू
वेदको आँखा मानिएको पौरस्त्य ज्योतिषशास्त्र कालगणनाको प्रमुख आधार हो । ज्योतिषशास्त्रमा काल गणनाका लागि ब्राह्ममान, दिव्यमान, पित्र्यमान, प्राजापत्यमान, बार्हस्पत्यमान, सौरमान, सावनमान, चान्द्रमान र नाक्षत्रमान गरी जम्मा ९ प्रकारका मानक पद्धतिहरूको उल्लेख भएको पाइन्छ ।
ब्राह्मं दिव्यं तथा पित्र्यं प्राजापत्यं च गौरवम् ।
सौरञ्च सावनं चान्द्रमार्क्षं मानानि वै नव ।।
(सूर्यसिद्धान्तः मानाध्याय –१)
सृष्टिकर्ता ब्रह्मासँग सम्बन्धित मानिने ब्राह्ममानमा १ कल्प बराबर ब्रह्माको एक दिन मानिन्छ । देवतासँग सम्बन्धित मानिने दिव्यमानमा मानिसको १ वर्ष अवधिबराबर देवताको एक दिन मानिन्छ । चन्द्रलोकको ऊर्ध्वभागमा बस्ने पितृहरूसँग सम्बन्धित मानिने पित्र्यमानमा एकपक्ष अर्थात् १५ तिथिबराबरको दिवा अवधि र १५ तिथिबराबरको रातको अवधि गरी ३० तिथि अर्थात् एक चान्द्रमासबराबर पितृहरूको १ दिन (अहोरात्र) मानिन्छ । ४ लाख ३२ हजार आयुवर्ष प्रमाण भएको कलियुग, ८ लाख ६४ हजार आयुवर्ष प्रमाण भएको द्वापर युग, १२ लाख ९६ हजार आयुवर्ष प्रमाण भएको त्रेता युग र १७ लाख २८ हजार आयुवर्ष प्रमाण भएको सत्ययुगको समयावधिलाई एकत्रित गर्दा प्राप्त हुने ४३ लाख २० हजार वर्षावधिलाई १ महायुग भनिन्छ । यस्ता महायुगहरूको ७१ पटक आवृत्ति हुँदा प्राप्त हुने ३० करोड ६७ लाख २० हजार वर्ष बराबरको समयलाई १ मन्वन्तर भनिन्छ । दिन र रातको भेद नहुने मन्वन्तर अवधिलाई प्राजापत्यमान भनिन्छ ।
युगानां सप्ततिः सैका मन्वन्तरमिहोच्यते ।
(सूर्यसिद्धान्तः मध्यमाधिकार–१८)
मन्वन्तरव्यवस्था च प्राजापत्यमुदाहृतम् ।
न तत्र द्युनिशोर्भेदो ब्राह्मं कल्पः प्रकीर्तितम् ।।
(सूर्यसिद्धान्तः मानाध्याय–२१)
बृहस्पतिसँग सम्बन्धित मानिने बार्हस्पत्यमानमा बृहस्पतिको १ संवत्सर बराबरको अवधिलाई १ वर्ष मानिन्छ । सूर्यसँग सम्बन्धित मानिने सौरमानमा सूर्यले आफ्नो कक्षभ्रमणमा लाग्ने समयलाई १ सौरवर्ष मानिन्छ । सूर्योदयसँग सम्बन्धित हुने सावनमानमा एक दिनको सूर्योदयदेखि अर्को दिनको सूर्योदयसम्मको अवधिबराबर एक दिन मानिने प्रमाणलाई सूर्यसिद्धान्तमा यसरी अर्थ्याइएको छ –
उदयादुदयं भानोः सावनं तत् प्रकीर्तितम् ।
सावनानि स्युरेतेन यज्ञकालविधिस्तु तैः ।।
(सूर्यसिद्धान्तः मानाध्याय– १८)
चन्द्रमासँग सम्बन्धित मानिने चान्द्रमानमा १ तिथिको भोगकाल बराबर १ दिन मानिन्छ भने नक्षत्रसँग सम्बन्धित मानिने नाक्षत्रमानमा एउटा नक्षत्रको उदयदेखि अर्को नक्षत्र उदय हुनेबेलासम्मको सरदर ६० घडी बराबर १ दिन मानिन्छ ।
३. व्यवहारमा प्रसिद्ध मानक एकाइहरू
काल गणनाका लागि यी ९ प्रकारका मानक पद्धतिहरूको स्पष्ट उल्लेख ज्योतिषका सिद्धान्त ग्रन्थहरूमा भए पनि मानवीय व्यावहारका हिसाबले सौरमान, चान्द्रमान, नाक्षत्रमान र सावनमानसम्बद्ध पद्धतिहरू अधिक प्रचलनमा रहेका देखिन्छन् ।
चतुर्भिर्व्यवहारोऽत्र सौरचान्द्रार्क्षसावनैः ।
बार्हस्पत्येन षष्ट्यब्दं ज्ञेयं नान्यैस्तु नित्यशः ।।
(सूर्यसिद्धान्तः, मानाध्यायः–२)
यी चार प्रकारका मानहरूमा पनि हाम्रा दैनिक तिथिमिति गणनामा सौरमानको र धार्मिक कृत्यका लागि चान्द्रमान अनुसारको तिथि गणना गर्ने प्रचलन बढी प्रचलित रहेको पाइन्छ । त्यस्तै औंसीका दिनमा समधरातलको शून्य राश्यन्तरमा रहेका सूर्य र चन्द्रको गत्यन्तरका कारण प्रत्येक १२/१२ अंशात्मक अन्तरमा उत्पन्न हुने तिथिको गणनाका साथै करण, विवाह, व्रतबन्धादि संस्कार, व्रत, उपवास, यात्रा र अधिकांश चाडपर्व आदिको गणना चान्द्रमानमा आधारित भई गरिन्छ ।
अर्काद् विनिस्सृतः प्राचीं यद्यात्यहरहः शशी ।
तच्चान्द्रमानमंशैस्तु ज्ञेया द्वादशभिस्तिथिः ।।
तिथिः करणमुद्वाहः क्षौरं सर्वक्रियास्तथा ।
व्रतोपवासयात्राणां क्रिया चान्द्रेण गृह्यते ।।
(सूर्यसिद्धान्तः, मानाध्यायः–१२–१३)
भचक्र अर्थात् नक्षत्रमण्डलको एक पटकको भ्रमणकाल बराबर १ नाक्षत्रदिन मानिन्छ । अश्विनी आदि २७ वटा नक्षत्रहरू मध्ये पूर्णिमा तिथिको अन्तिम विन्दु (पर्वान्त)–मा जुन नक्षत्रको संयोग हुन्छ त्यो महिनाको नामकरण त्यही नक्षत्रको नामबाट गरिने भएकाले चान्द्रमासका महिनाको नामकरणमा नाक्षत्रमान उपयोगी मानिन्छन् ।
भचक्रभ्रमणं नित्यं नाक्षत्रं दिनमुच्यते ।
नक्षत्रनाम्ना मासास्तु ज्ञेयाः पर्वान्तयोगतः ।।
(सूर्यसिद्धान्तः, मानाध्यायः–१५)
४. विश्वघस्रपक्षको प्रभाव
विश्वघस्रपक्षलाई गुरुशुक्रको अस्त समयजस्तै अशुद्ध समय मानी शुभकर्ममा वर्जित गरिएको कुरा मुहूर्तचिन्तामणिका रचनाकार रामदैवज्ञले आफ्नो ग्रन्थमा यसरी उल्लेख गरेका छन् –
अस्ते वर्ज्यं सिंहनक्रस्थजीवे वर्ज्यं केचिद्वक्रगे चातिचारे ।
गुर्वादित्ये विश्वघस्रेऽपि पक्षे प्रोचुस्तद्वद्दन्तरत्नादिभूषाम् ।।
(मुहूर्तचिन्तामणिःशुभाशुभप्रकरण–श्लो.४८)
एकपक्षमा दुईवटा तिथिहरू लोप भई विश्वघस्रपक्ष पर्न जाँदा राज्यमा व्याधिसङ्क्रमण हुने, आपसी शत्रुता बढ्ने, महामारी, उल्कात्रासलगायतका प्रकोपहरूको प्रबलता हुने, एकपक्ष नै नष्ट भएमा राज्यप्रमुखलाई अनिष्ट हुने र पूरा एक महिना नै लोप भई क्षयमास पर्न गएमा पृथ्वीभर क्षयीकरण हुने भन्दै बाढी, पहिरो, भूकम्पआदि प्राकृतिक विपत्तिको भय हुने कुरासमेत बृहद्दैवज्ञरञ्जनमा बताइएको छ ।
पक्षस्य मध्ये द्वितिथी विनष्टे, महाहवौ रौरव–विग्रहञ्च ।
पक्षे विनष्टे नृपतिर्विनष्टः, मासक्षयश्चेत्क्षयति वसुन्धरा ।।
नियमित कामहरूबाहेकका धार्मिक कृत्य सम्पादनका लागि अशुद्ध मानिएको विश्वघस्रपक्ष कहिले वा कति समयान्तरालमा आउँछ ? यो जिज्ञासा सबैमा हुन सक्छ तर क्षयमास वा अधिमासको आगमन समय निश्चित भए झैँ विश्वघस्रपक्षको आगमन समय निश्चित भने हुँदैन । विश्वघस्रपक्षमा तिथिहरू लोप हुने क्रममा सुरुवातका ३ वटा (प्रतिपदा, द्वितीया, तृतीया) मध्ये एक र अन्तिमका ३ वटा (त्रयोदशी, चतुर्दशी,पूर्णिमा/औंसी)मध्ये एक तिथि लोप हुने गर्दछ । अधिमास परेको वर्षमा पनि पर्नसक्ने विश्वघस्रपक्षको आगमन कुनै महिना वा पक्षविशेषमा निर्भर हुने देखिन्न । वि.सं.२०३०को दशकपछिका नेपाली पञ्चाङ्गहरू अवलोकन गर्दा विभिन्न महिनाका शुक्ल र कृष्ण दुबै पक्षमा परेका विश्वघस्रपक्षलाई यसरी देखाउन सकिन्छ –
५. वि.सं.२०३० सालदेखि वि.सं.२०७८ सालसम्ममा परेका विश्वघस्रपक्षहरूः
*कृपया हजुर यो लेख मोबाईलबाट पढ्दै हुनुहुन्छ भने यो तालिका पूरा पढ्नका लागी मोबाईललाई ठुलो (Rotation गरेर हेर्न सक्नुहुनेछ ।
क्र.सं. |
वि.सं. |
सौरमहिना |
विश्वघस्रअवधि(गतेदेखि–गतेसम्म) |
चान्द्रमास |
पक्ष |
क्षयतिथि |
१. |
२०३३ |
श्रावण |
१३ गते बुधबार–२५ गते सोमबार |
श्रावण |
शुक्ल |
द्वितीया र चतुर्दशी |
२. |
२०३६ |
वैशाख/ज्येष्ठ |
वैशाख ३० गते रविवार – जेठ ११ गते शुक्रबार |
ज्येष्ठ |
कृष्ण |
तृतीया र औंसी |
३. |
२०४७ |
भाद्र/आश्विन |
भाद्र २१ गते बिहीबार– आश्विन २ गते मङ्गलबार |
आश्विन |
कृष्ण |
द्वितीया र चतुर्दशी |
४. |
२०५० |
आषाढ |
आषाढ ७ गते सोमबार–आषाढ १९ गते शनिबार |
आषाढ |
शुक्ल |
द्वितीया र चतुर्दशी |
५. |
२०६४ |
श्रावण |
श्रावण १५ गते मङ्गलबार–श्रावण २७ गते रविवार |
श्रावण |
कृष्ण |
द्वितीया र त्रयोदशी |
६. |
२०६७ |
ज्येष्ठ |
ज्येष्ठ १ गते शनिबार– ज्येष्ठ १३ गते बिहीबार |
शुद्धवैशाख |
शुक्ल |
द्वितीया र पूर्णिमा |
७. |
२०७८ |
भाद्र/आश्विन |
भाद्र २३ गते बुधबार–आश्विन ४ गते सोमबार |
भाद्र |
शुक्ल |
प्रतिपदा र त्रयोदशी |
६. निष्कर्ष
शुक्लपक्षमा प्रतिपदादेखि पूर्णिमासम्मका १५ तिथि र कृष्णपक्षमा प्रतिपदादेखि औंसीसम्मका १५ तिथिहरू मिली बन्ने एक चान्द्रमासका तिथिमानमा सामान्यतः घटबढ भइरहन्छन् । यो क्रममा सूर्योदयकालमा तिथिको पूर्णभोगकालमध्ये कुनै एकपलमात्र पनि उदयक्षितिजमा देखिएमा औदयिक तिथि कायम हुने गर्दछ भने तिथिको पूर्णभोगकालमध्ये एकपल पनि सूर्योदयकालमा देखिएन भने त्यो तिथि क्षय भएको मानिन्छ । तिथि क्षय हुने क्रममा एकपक्षको अवधिमा दुईवटा तिथिहरू लोप (क्षय) भएमा १३ तिथिहरूको एकपक्ष कायम हुन जान्छ । १३ तिथिहरूको एकपक्ष हुने अवधिलाई ‘विश्वघस्रपक्ष’ भनिन्छ । यस पक्षमा सुरुवातका प्रतिपदा, द्वितीया र तृतीया वा अन्तिमका त्रयोदशी, चतुर्दशी वा पूर्णिमा/औंसी गरी ६वटा तिथिहरूमध्येबाट कुनै दुई तिथि लोप हुने गरेको पाइन्छ । यस अवधिमा मुहूर्त जुराएर गर्नु पर्ने कुनै पनि किसिमका अनुष्ठानहरू गर्नु उपयुक्त हुँदैन ।
कपिलदेव भट्टराई
-ज्योतिषाचार्य– सिद्धान्त एवं फलित)
उपप्राध्यापक
ने.सं.वि.कालिका संस्कृत विद्यापीठ, गैंडाकोट, नवलपुर (ब.सु.पू.)
आहा महत्त्वपूर्ण लेख ।गुरुदेव ।
धन्यवाद ।