सन्ततिको महत्व र सन्तान योग
‘मनोः अपत्यं पुमान् मानवः’ हामी मानव मनुका सन्तान हौं । हाम्रो इतिहास खोज्दा वेद, पुराण, उपनिषद् आदिका आधारमा सृष्टिकर्ता ब्रह्माजीमै पुग्नुपर्ने हुन्छ । ब्रह्माजीले चार कुमारको सृष्टि गर्नुभयो तर चारै कुमार ऊध्र्वरेता मात्र भए, तिनीहरूले सृष्टि गर्न मानेनन् । पुनः नारदको सृष्टि गर्दा पनि सृष्टिक्रम अगाडि नबढेपछि ब्रह्माजीले मरीचि आदि सप्तर्षि र आफ्नै अङ्गबाट मनु र सतरूपा उत्पत्ति गरेपछि स्त्री–पुरुषको संगमबाट सन्तान उत्पत्ति गरी सृष्टिक्रमलाई अघि बढाएको प्रसंग इतिहास–पुराणमा छ ।
आफ्नो अस्तित्व रक्षा गर्दै वंश परम्परा अघि बढाउने क्रममा सन्तान जन्माउन आवश्यक हुन्छ । सन्तानबिना सृष्टिक्रम अवरुद्ध हुन्छ । गृहस्थीको शोभा पनि सन्तान नै हो । सनातन संस्कृतिको प्रामाणिक ग्रन्थ वेदमा पनि सन्तानको महत्त्व यसरी दर्साइएको छ—
‘विवश्वान्नादित्यैषते …… पुमान् पुत्रो जायते विन्दते वश्वधारपएधते गृहे’ (शुक्लयजुर्वेद) । सन्तानहीन मानिसको यस लोकमा र परलोकमा पनि गति हुँदैन भन्ने कुरा इतिहास–पुराणहरूमा उल्लेख छ ।
अपुत्रस्य गतिर्नास्ति स्वर्गो नैव च नैव च ।
पुत्रादन्यतरन्नास्ति परलोकस्य साधनम् ।।
(देवीभागवत प्र.स्कन्ध४।१५)
साथै सन्तानबिनाको कुल–वंशको पनि अर्थ नहुने कुरा पद्मपुराणमा यसरी वर्णन गरिएको छ— ‘धिग्धनं चानपत्यस्य धिक्कुलं सन्ततिं बिना’ (भागवत माहात्म्य ४।२९) । यही सन्तानका विषयमा सन्तानसम्बन्धी विभिन्न शुभाशुभ योग, सन्तानको महत्व, सन्तान उत्पत्तिमा बाधा हुने लक्षण र त्यसको निराकरण विधि सहितको वर्णन ज्यौतिषशास्त्रमा पाइन्छ । जुन कुराको जानकारी जीवनोपयोगी र समयसान्दर्भिक पनि देखिन्छ ।
विवाहपश्चात् वंशपरम्परा रक्षार्थ पितृ आदि ऋणबाट मुक्तिका लागि असल सन्तानको आवश्यकता पर्दछ । सन्तानका रूपमा अरू नभएर आफ्नो अंश नै जन्मने हो भन्ने कुरा आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । ‘आत्मा वै पुत्र उत्पन्न इति वेदानुशासनम् ’ (भागवत १०।७८।३६श्लो) । त्यसकारण बाबुको अत्यधिक लक्ष्ँण सन्तानमा मिल्ने गर्दछ । वैदिक विधि वा कुलपरम्पराअनुसार विवाह गरेर उत्तम समयमा गर्भाधानादि संस्कारले युक्त सन्तान भएमा मात्र आफूभन्दा पूर्वका दश, पछिका दश र आफूसहित गरेर २१ कुलको उद्धार गर्ने प्रमाण मनुस्मृति आदि ग्रन्थमा प्राप्त छन् ।
दशपूर्वान् परान् वंश्यानात्मानां चैकविंशकम् ।
ब्राह्मीपुत्त्रः सुकृतकृन् मोचयत्येनसः पितृन् ।।
(मनुस्मृति ३।३७ श्लो)
त्यसकारण विविध उपायले भए पनि सन्तान उत्पत्ति एक आवश्यक कर्तव्यभित्र पर्दछ ।
मानिसको जन्मसमयका आधारमा जन्मकुण्डली निर्माण गरिन्छ । लग्नकुण्डलीमा विशेष रूपमा पञ्चमभावलाई सन्तानको भाव मानिन्छ । तर उक्त भावका साथै नवमभाव तथा सन्तानकारक ग्रह बृहस्पति र बृहस्पति बसेको भावदेखि पञ्चमस्थानबाट सन्तान उत्पत्तिबारे विचार गर्नुपर्दछ । सन्ततिका स्वामी बृहस्पति हुन् । त्यसमा पनि विशेषतः पुत्रकारक बृहस्पति हुन् भने पुत्रीकारक शुक्र हुन् । कुण्डलीमा भाव, भावेश, कारक र कारकत्वका आधारमा सन्तान विचार गर्नुपर्दछ । यसका साथै चल्दै गरेको दशा–अन्तर्दशा, गोचर आदिका आधारमा पनि सन्तान विचार गर्नुपर्ने शास्त्रप्रणेता आचार्यहरूको मत पाइन्छ ।
हाम्रो समाजमा सन्तान प्राप्तिका विषयमा ज्योतिर्विद्हरूसँग परामर्श लिने धेरै हुन्छन् । यसरी परामर्श लिन आएका सेवाग्राहीलाई ज्योतिषीय अध्ययनबाट उचित सल्लाह दिनु ज्योतिषीको कर्तव्य हो । सन्तानसम्बन्धी प्रश्नको समाधान खोज्न मुख्यरूपले तीन प्रकारका कुण्डली विचार गर्नुपर्छ— जन्मकुण्डली, प्रश्नकुण्डली र आधानकालिक कुण्डली । यी कुण्डलीमा पनि लग्नेश, पञ्चमेश, नवमेश तथा सन्तानकारक ग्रहहरूको बलाबल र शुभाशुभत्व विचार गर्नुपर्दछ । त्यस्तै, सन्तानभावको बलाबललाई पनि विचार गर्नुपर्दछ । जब सन्तानभावमा भावपति र शुभग्रहले विचरण गर्दछन् वा दृष्टिपात गर्दछन् भने उक्त भावमा बल प्राप्त हुन्छ । लग्नादि शुभभावमा रहेको बलवान् बृहस्पतिले सम्पूर्ण लक्षणले युक्त सन्तान दिने कुरा भृगुसूत्रमा यसरी बताइएको छ—
स्वक्षेत्रे शब्दशास्त्राधिकारी त्रिवेदी बहुपुत्रवान्, सुखी, चिरायु, ज्ञानवान् । (भृगुसूत्र)
बृहस्पति सन्तानको कारक भएकाले बृहस्पतिको दशा वा पुत्र स्थानमा बृहस्पतिको दृष्टि हुँदा गर्भाधान भएमा सुयोग्य सन्तान प्राप्ति हुन्छ । त्यसमा पनि श्रीमती रजस्वला भएको दिनदेखि बिजोर रात्रिमा भए छोरीको जन्म र जोर रात्रिमा गर्भ रहे छोराको जन्म हुने कुरा ऋषिहरूले बताएका छन् । ऋषिवचन मिथ्या नहुने हुँदा व्यवहारमा स्वतः पुष्टि हुन्छ । अनुसन्धानका क्रममा भेटिएका केही उदाहरण हेरौं—
कुण्डली १.
मिति–२०४५।०२।०६ बेलुका ५।२० बजे रसुवामा जन्म
प्रस्तुत कुण्डलीमा सन्तानभावमा पापग्रह त्यसमा पनि राहु र मङ्गलकको युतिले सन्तान पक्ष कमजोर बनाएको छ । सन्तानभावको मालिक सन्तानभावदेखि द्वादशभावमा बसेको छ । सन्तानभावमा कुनै पनि शुभ ग्रहको दृष्टि सम्बन्ध देखिदैन भने पापग्रहको दृष्टि सम्बन्ध बनेको छ । बृहस्पतिदेखि पाँचौ भावको मालिक पनि त्रिकस्थानमा गएर बुधसँग युति सम्बन्ध बनाएर बसेकाले यो कुण्डलीमा सन्तान पक्ष धेरै कमजोर देखिन्छ ।
कुण्डली नं. २
मिति २०४०।७।२७, इष्टकाल ४४।४९ काभ्रेपलाञ्चोकमा जन्म ।
यो कुण्डलीमा पुत्रभावको मालिक एवं पुत्रकारक बृहस्पति सम्बन्धित भावबाट द्वादशस्थानमा शुभाशुभ दुवै ग्रहसँग युत भएर बसेको छ । पुत्रभावदेखि पञ्चम अर्थात् नवमभावको मालिक पनि त्रिकमै बसेको छ । त्यस कारण यो कुण्डलीमा पुत्र सुख हालसम्म भएको देखिदैन ।
कुण्डली ३.
मिति–२०२४।४।७ बिहान ९ः०५ बजे रुपन्देहीमा जन्म
यो समयको कुण्डलीमा पनि बृहस्पति त्रिकस्थानमा रहेको छ र रवियुत पनि भएर बाह्रौँ भावमा भएकाले पुत्र सुख हुदैन भन्ने विद्वानको मत यहाँ पनि मिलेकोछ । हाल सम्म पनि पुत्र सुख प्राप्त भएको छैन ।
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।