सुप्रभात
रेसमी मखमली सुवासमा
मोहिनी सरलता उदासमा।
यामिनी भ्रमर गीत गाउँछे
न्याउली निशिकथा सुनाउँछे।।१।।
आजबाट कहिल्यै नआउनू
कोइली अब तिमी न गाउनू।
सम्झना पवन हे! न ल्याउनू
यादकी प्रिय सखी निदाउनू।।२।।
रात्रिमा कुमुदिनी उदाउँदा
काव्यले मधुर गीत गाउँछ।
प्यारले छटपटी लगाउँदा
बासुरी मुटु सदा चुडाउँछ।।३।।
सूर्य पूर्वगिरीमा उदाउँदा
लालीमा वदनमा सुहाउँदा।
खुल्दछन् जब सबै दिशाहरू
सुत्दछन् अनि सबै निशाहरू।।४।।
प्रेम सप्तकहरू बजाउँदा
माधुरी मनभरी उदाउँदा।
स्वप्न जागरण साथ मिल्दछन्
प्रीति पुष्प ढकमक्क फुल्दछन्।।५।।
रात्रिको स्मरण मात्र शेष भो
यामिनीरस समाप्त भै गयो।
चन्द्र अस्तगिरिमा लुके अब
प्रेम स्वप्निल सबै छुटे अब।।६।।
छन्दः– रथोद्धता
नोटः– हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सिधा सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।